बाँदर धपाउनका लागि लोड गरिएको भरुवा बन्दुक पड्किँदा एक जना घाइते
अर्घाखाँची । अर्घाखाँचीको मालारानी गाउँपालिका–६ साकिन्धारामा भरुवा बन्दुक अचानक पड्किँदा एक जना घाइते भएका छन्।
घाइते हुनेमा स्थानीय ३० वर्षीय विष्णु थापा रहेका छन्। मंगलबार दिउँसो करिब १ः३० बजे आफ्नै बारीमा बाँदर धपाउनका लागि लोड गरिएको भरुवा बन्दुक बोकेर हिँडिरहेका बेला बारीको डिलमा चिप्लिँदा बन्दुक अचानक पड्किएको प्रहरीले जनाएको छ।
बन्दुक पड्किँदा थापाको दायाँ हातको पञ्जामा चोट लागेको छ। घाइते थापाको बुटवलस्थित एडमन सिटी अस्पतालमा उपचार भइरहेको छ।
घटनामा प्रयोग भएको भरुवा बन्दुक प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।


