अनुसन्धान प्रभावित हुने गरी पीडितको परिचय खुल्ने समाचार सम्प्रेषण गरेको आरोपमा सञ्चारकर्मी पक्राउ
विराटनगर । मोरङ प्रहरीले अनुसन्धान कार्यमा प्रभाव पार्ने तथा पीडित बालिकाको वास्तविक परिचय खुल्ने गरी भिडियो समाचार सम्प्रेषण गरेको आरोपमा एक सञ्चारकर्मीलाई पक्राउ गरेको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार सुनवर्षी नगरपालिकामा एक बालिकामाथि भएको सामूहिक जबरजस्ती करणी घटनासम्बन्धी Koshi Aawaj नामक अनलाइन मिडियामार्फत सामाजिक सञ्जाल फेसबुकमा समाचार प्रसारण गर्दा पीडित परिवारको वास्तविक परिचय खुल्ने विवरण सार्वजनिक गरिएको भन्दै उजुरी परेको थियो।
उक्त उजुरीका आधारमा आफूलाई सञ्चारकर्मी बताउने चन्दनकुमार पासवानलाई साउन १३ गते पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउपछि अदालतबाट म्याद थप गरी इलाका प्रहरी कार्यालय रंगेलीबाट थप अनुसन्धान भइरहेको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मकेन्द्रकुमार मिश्रका अनुसार घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको छ।


