गोलबजारमा कानुनको धज्जि उडाउदै साउनमा काम, असारमै भुक्तानी !
मुकेश कुमार यादव,सिरहा १४ साउन। सिरहाको गोलबजार नगरपालिकामा आर्थिक वर्षको अन्त्यमा कागजमा योजना सम्पन्न देखाएर रकम निकासा गरेको पाइएको छ। वडा नम्बर २ गुरुधामस्थित वडा कार्यालय अगाडि निर्माण भइरहेको १० लाख रुपैयाँको ढलान योजना साउनमा सुरु गरेपनि रकम असारमै रकम निकासा गरिएको तथ्य बाहिरिएको हो।
नगरस्तरीय योजनाअन्तर्गत गत आर्थिक वर्ष २०८२/०८३ मा सम्पन्न हुनुपर्ने उक्त योजना बुधबार (साउन १३) बाट मात्रै निर्माण सुरु भएको स्थानीयले बताएका छन्। असारमै योजना सम्पन्न भएको कागजात तयार गरी भुक्तानी प्रक्रिया अघि बढाइएको थियो। तर, काम भने नयाँ आर्थिक वर्ष सुरु भएपछि मात्र थालिएको उनीहरूको भनाइ छ।
बोलपत्र आह्वान गरी ठेक्का लगाइएका योजनामा सम्झौता म्याद थप गर्ने व्यवस्था हुन्छ। तर, कोटेसनमार्फत सञ्चालन गरिएका योजनामा सम्झौता म्याद थप गर्न नमिल्ने भए पनि गोलबजारमा असारमै भुक्तानी प्रक्रिया अघि बढाएर साउनमा काम सुरु गर्नु पुर्ण गैरकानुनी रहेको अर्का स्थानीय तहकै केही कर्मचारी बताउँछन्।
स्थानीय राजकुमार महतो भन्छन्, ´यो ठाडो भ्रष्टाचारको नमुना हो। गोलबजारका जनप्रतिनिधि तथा कर्मचारीहरुले उपभोक्ता समितिसंग कमिसन लेनदेन कार्य झन्झटिलो भएपछि कमिसनकै लागि उनिहरुले करोडौँका योजना कोटेसनमार्फत बाँडिएको छ।
अहिले भइरहेको काममा सूचना पाटीसमेत राखिएको छैन। यसले योजना लुकाएर रकम हिनामिना गर्ने नियत देखिएको पुष्टि गर्छ।
स्थानीयका अनुसार निर्माणस्थलमा योजना सम्बन्धी कुनै सार्वजनिक सूचना राखिएको छैन। लागत, ठेकेदार, अवधि र जिम्मेवार निकायबारे जानकारी दिने सूचना पाटी नहुँदा पारदर्शितामाथि समेत स्थानियहरुले प्रश्न उठाएका छन् ।
नगरपालिकाकै एक कर्मचारीले नाम नखोल्ने सर्तमा भने, ´उपभोक्ता समिति गठन नगरिकन गोलबजारकै गुन्जा कन्स्ट्रक्सनका ठेकेदार बिजय साहमार्फत कोटेसनमा काम गराइएको हो। काम सम्पन्न नभई सम्पन्नको सिफारिस गरेर भुक्तानी प्रक्रिया अघि बढाइएको छ।´
स्रोतका अनुसार केही दिनअघि नगरपालिकाप्रति सार्वजनिक रूपमा असन्तुष्टि जनाएका वडा नम्बर–२ का अध्यक्ष सुकदेव (सुख्खा) सिंहलाई खुसी पार्न नगर प्रमुख श्याम श्रेष्ठले आर्थिक वर्षको अन्तिम समयमा योजना दिइएको थियो। त्यसपछि ठेकेदारसँग आर्थिक बार्गेनिङ भएको र काम नगरी पनि कार्य सम्पन्नको सिफारिस गरि रकम समेत निकासा भएको स्थानियको आरोप छ।
यसबारे वडा अध्यक्ष सिंहले योजना गत आर्थिक वर्षकै भएको स्वीकार गरे। उनले भने, ´यो १० लाखको नगरस्तरीय योजना हो। असारमा काम गराउन सकिएन, त्यसैले अहिले कोटेसन मार्फत बिजय साहलाई ठेक्का दिइ काम गराइरहेका छौँ।´
रकम निकासाबारे सोध्दा उनले भने, ´रकम निकासा भए पनि रोक्का गरिएको छ। काम सम्पन्न भएपछि मात्र भुक्तानी हुने गरी राखिएको हो।´
वडा अध्यक्षको भनाइ नै गैरकानुनी रहेको छ। यदि काम नै भएको थिएन भने रकम निकासा वा रोक्का गर्ने प्रक्रिया कुन आधारमा अघि बढाइयो? कार्य सम्पन्नको सिफारिस कसले गर्यो? प्राविधिक मूल्याङ्कन कहिले भयो? यदि कुनै पनि प्रक्रिया पूरा भएको थिएन भने आर्थिक वर्ष सकिनुअघि फाइल किन अघि बढाइयो? यी सबै प्रश्नको स्पष्ट जवाफ दिनुपर्ने जिम्मेवारी नगरपालिकाको हो। तर, नगरका जनप्रतिनिधि तथा कर्मचारीहरु सबै यस बिषयमा पन्छिन मोबाइल नै अफ गरेर बसिरहेका छन् ।
यस विषयमा प्रमुख प्रशासकीय अधिकृत अनन्त पौडेलसँग सम्पर्क गर्दा उनले, ´प्राविधिक शाखासँग बुझेर जानकारी दिन्छु भने। तर केहीबेरपछि उनको कार्यालयको मोबाइल बन्द भयो र त्यसपछि सम्पर्क हुन सकेन।
यता, योजना शाखा प्रमुख जय गणेश सिंहको मोबाइल पनि बन्द रहेकाले उनको प्रतिक्रिया लिन सकेनन् ।


