दाङमा १० लाख ७५ हजार रुपैयाँ बराबरका बिलबिजकविहीन मोबाइल तथा सामग्री बरामद
दाङ । दाङ प्रहरीले १० लाख ७५ हजार रुपैयाँ बराबरका बिलबिजकविहीन मोबाइल तथा मोबाइलका विभिन्न सामग्री बरामद गरेको छ।
इलाका प्रहरी कार्यालय भालुवाङबाट खटिएको प्रहरी टोलीले राप्ती गाउँपालिका–१ पुल्चोकस्थित पूर्व–पश्चिम राजमार्गमा नियमित सवारीसाधन जाँचका क्रममा उक्त सामग्री फेला पारेको हो।
प्रहरीका अनुसार बरामद सामग्रीमा २२८ थान एन्ड्रोइड मोबाइलका डिस्प्ले, तीन थान एन्ड्रोइड मोबाइलका ब्याट्री तथा एक–एक थान आईफोन १६, आईफोन १३, आईफोन १२ र आईफोन ११ रहेका छन्।
बरामद गरिएका सामग्रीमध्ये २२८ थान एन्ड्रोइड मोबाइलका डिस्प्लेको अनुमानित मूल्य ६ लाख ८४ हजार रुपैयाँ, तीन थान ब्याट्रीको ६ हजार रुपैयाँ, आईफोन १६ को १ लाख ८० हजार रुपैयाँ, आईफोन १३ को ७५ हजार रुपैयाँ, आईफोन १२ को ७० हजार रुपैयाँ र आईफोन ११ को ६० हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ।
बरामद गरिएका सबै सामग्री आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि कृष्णनगर भन्सार कार्यालय, कपिलवस्तु पठाउने प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।


