धनकुटा बजारका मिठाई पसल, बिस्कुट उद्योग र डेरीमा अनुगमन, चार व्यवसायलाई जरिवाना
धनकुटा । जिल्ला प्रशासन कार्यालय धनकुटाको संयोजनमा बिहीबार धनकुटा बजार क्षेत्रका मिठाई पसल, बिस्कुट उद्योग र दुग्ध डेरीमा संयुक्त बजार अनुगमन गरिएको छ। अनुगमनका क्रममा विभिन्न कैफियत फेला परेपछि चार व्यवसायलाई जनही पाँच हजार रुपैयाँका दरले जरिवाना गरिएको हो।
जिल्ला प्रशासन कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनकुटा तथा धनकुटा नगरपालिकाको संयुक्त टोलीले गरेको अनुगमनमा न्यू भुलन होटल, विधानन्द मुखियाद्वारा सञ्चालित मिठाई पसल, हेलो ब्रदर स्वीट एण्ड चाट हाउस, हाम्रो बिस्कुट उद्योग र एक दुग्ध डेरी पसलको निरीक्षण गरिएको थियो।
अनुगमनका क्रममा न्यू भुलन होटलमा सरसफाइको अवस्था सन्तोषजनक नभएको पाइएपछि पाँच हजार रुपैयाँ जरिवाना गरिएको छ। विधानन्द मुखियाद्वारा सञ्चालित मिठाई पसलमा एउटै तेल पटक–पटक प्रयोग गरिएको भेटिएकाले पाँच हजार रुपैयाँ जरिवाना गरिएको हो।
यस्तै, हेलो ब्रदर स्वीट एण्ड चाट हाउसले बिल–बिजक जारी नगरेको तथा जारी गरिएका बिलको अभिलेख नराखेको पाइएपछि पाँच हजार रुपैयाँ जरिवाना गरिएको छ। दुग्ध डेरीमा लेबल गर्नुपर्ने दुग्धजन्य पदार्थमा लेबल नराखिएको भेटिएपछि पाँच हजार रुपैयाँ जरिवाना गरिएको प्रशासनले जनाएको छ। हाम्रो बिस्कुट उद्योगमा भने जरिवाना गरिएको उल्लेख छैन।
अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत रामजी पौडेल, खाद्य निरीक्षण अधिकृत सुशील कोइराला, धनकुटा नगरपालिकाका अधिकृत टिकराम राई, उद्योग वाणिज्य महासंघ धनकुटाकी सदस्य रेवती अधिकारी, नेपाल पत्रकार महासंघ धनकुटा शाखाका पत्रकार सन्तोष सुवेदी तथा जिल्ला प्रहरी कार्यालय धनकुटाका असई राजकिशोर यादव सहभागी थिए।
अनुगमनपछि टोलीले होटल, उद्योग तथा पसलमा नियमित सरसफाइ कायम गर्न, व्यवसाय दर्ता गरेर मात्र सञ्चालन गर्न, अनिवार्य रूपमा बिल–बिजक जारी गरी अभिलेख राख्न, मूल्यसूची प्रदर्शन गर्न, गुणस्तरीय खाद्यवस्तु मात्र बिक्री गर्न तथा खाद्य पदार्थमा अनिवार्य लेबलिङ गरी प्रचलित कानुनको पूर्ण पालना गर्न निर्देशन दिएको छ।


