झापामा १०२.३१० ग्राम खैरो हेरोइन सहित दुई भारतीय नागरिक पक्राउ
झापा । लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय काँकडभिट्टा र इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको संयुक्त प्रहरी टोलीले झापाको कन्काई नगरपालिका–२ स्थित एस फुल सेकुवा कर्नरबाट ठूलो परिमाणमा लागुऔषधसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार उक्त स्थानमा लागुऔषधको बिक्री–वितरण भइरहेको भन्ने विशेष सूचनाका आधारमा गरिएको कारबाहीका क्रममा भारतको बिहार राज्य, अररिया जिल्ला, कुरसाकट्टा वडा नं. ७ तकियाटोल निवासी २८ वर्षीय महमद एहवाल र कुरसाकट्टा वडा नं. ८ छिप्टिया टोल निवासी २७ वर्षीय अझर अन्सारीलाई नियन्त्रणमा लिइएको हो।
उनीहरूको साथमा रहेको रातो रङको प्लास्टिकको बोराको खानतलासी गर्दा १०२.३१० ग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थ, ७,२०० वटा ट्रामाडोल (TRAMADOL) क्याप्सुल र ७,४५० वटा निट्जासेन (NITZASCEN) ट्याब्लेट बरामद भएको प्रहरीले जनाएको छ।
यसका साथै दुई थान एन्ड्रोइड मोबाइल फोन पनि बरामद गरिएको छ। पक्राउ परेका दुवै जनामाथि लागुऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


