धनकुटामा २ हजार गाँजाका बोट फडानी गरी नष्ट
धनकुटा, साउन १६ । धनकुटाको शहीदभूमि गाउँपालिका–१ का विभिन्न स्थानमा अवैध रूपमा लगाइएको गाँजा खेती प्रहरीले फडानी गरी नष्ट गरेको छ।
जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार इलाका प्रहरी कार्यालय छिन्ताङ र प्रहरी चौकी त्रिवेणीबाट खटिएको संयुक्त प्रहरी टोलीले करिब ३ रोपनी क्षेत्रफलमा लगाइएको २ हजार गाँजाका बेर्ना तथा बोट फडानी गरेको हो।
प्रहरीले फडानी गरिएका सबै गाँजाका बेर्ना र बोट घटनास्थलमै जलाएर नष्ट गरेको जनाएको छ। अवैध लागूऔषधको उत्पादन तथा ओसारपसार नियन्त्रण अभियानअन्तर्गत नियमित रूपमा यस्ता कारबाही जारी रहने प्रहरीले जनाएको छ।


