तीन जना सवार मोटरसाइकल दुर्घटना : चालकको मृत्यु, दुई जना घाइते
नवलपरासी । नवलपरासी (पश्चिम)को पाल्हीनन्दन गाउँपालिका–२ हरपुरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
दुर्घटनामा गम्भीर घाइते भएका भारतीय नागरिक, कुशीनगर जिल्ला रामकोला गाउँका २५ वर्षीय विजय चौहानको भैरहवास्थित सिद्धार्थ सिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा मोटरसाइकलको पछाडि सवार भारतका २३ वर्षीय सतिस कुमार चमार र रुपन्देहीको बुटवल उपमहानगरपालिका–३ निवासी ३६ वर्षीय कमल राना घाइते भएका छन्। उनीहरूको अस्पतालमा उपचार भइरहेको छ।
प्रहरीका अनुसार भारतीय नम्बर प्लेट UP 57 BP 4162 को मोटरसाइकल आफैं अनियन्त्रित भई पल्टिँदा दुर्घटना भएको हो। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।


