जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार कैदी भरुवा बन्दुकसहित पक्राउ
चितवन, साउन १७ । गत वर्षको जेन्जी आन्दोलनका क्रममा भरतपुर कारागारबाट फरार भएका एक कैदीलाई प्रहरीले भरुवा बन्दुकसहित पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार राप्ती नगरपालिका–११ थाकलटार निवासी ४५ वर्षीय आईतसिंह लामालाई आइतबार बिहान करिब ३:१५ बजे इलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको प्रहरी टोलीले उनकै घरबाट पक्राउ गरेको हो। पक्राउका क्रममा उनीबाट एक थान भरुवा बन्दुक समेत बरामद गरिएको प्रहरीले जनाएको छ।
लामा २०८२ भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनका क्रममा भरतपुर कारागारबाट फरार भएका थिए। उनी एक सिंगे गैंडा मारेको तथा वन्यजन्तुसम्बन्धी कसुरमा दोषी ठहर भई १५ वर्ष कैद र १० लाख रुपैयाँ जरिवाना सजाय पाएका कैदी हुन्।
प्रहरीले बरामद गरिएको भरुवा बन्दुक नियन्त्रणमा लिई लामामाथि थप अनुसन्धान अघि बढाइएको जनाएको छ।


