धनकुटामा लामो दूरीमा इलेक्ट्रिक गाडी (ईभी) चलाउँदै आएकी एक मात्र महिला चालक कुशला राई सम्मानित
धनकुटा । धनकुटामा लामो दूरीमा इलेक्ट्रिक गाडी (ईभी) चलाउँदै आएकी महिला चालक कुशला राईलाई सम्मान गरिएको छ।
सहिदभूमि गाउँपालिका–४ निवासी राई धनकुटाबाट लामो दूरीमा नियमित रूपमा ईभी सञ्चालन गर्ने जिल्लाकी एकमात्र महिला चालक हुन्। उनलाई धनकुटा नगरपालिका–६ वडा कार्यालय र मार्गेश्वरी टोल विकास संस्थाले संयुक्त रूपमा सम्मान गरेका हुन्।
धनकुटा नगरपालिका–६ स्थित गोठगाउँमा ईभी रोकेर स्थानीयले फूलमाला, अबिर र प्रशंसापत्र प्रदान गर्दै राईलाई सम्मान गरेका थिए।
मार्गेश्वरी टोल विकास संस्थाकी अध्यक्ष तथा धनकुटा नगर कार्यपालिका सदस्य रेजिना हिङमाङका अनुसार दैनिक लामो दूरीमा सवारी सञ्चालन गर्दै महिलाका लागि प्रेरणादायी उदाहरण बनेकी राईलाई थप हौसला प्रदान गर्ने उद्देश्यले सम्मान गरिएको हो।
राईले धनकुटाको महालक्ष्मी नगरपालिका–स्थित चानुवा डाँडागाउँबाट लेगुवा, पाख्रीबास, हिले, धनकुटा, धरान हुँदै इटहरीसम्म नियमित रूपमा ईभी सञ्चालन गर्दै आएकी छन्। उनले करिब दुई वर्षअघि सवारी चलाउन सुरु गरेकी भए पनि लामो दूरीमा भने पछिल्लो एक महिनादेखि निरन्तर सेवा दिँदै आएकी छन्।


