देवानगन्जमा महिलालाई ढुंगा लागेर घाइते, तनावको सम्भावनापछि सुरक्षा सतर्कता बढाइयो
सुनसरी । सुनसरीको देवानगन्ज गाउँपालिका–४ कप्तानगन्जमा घाँस काट्न गएकी एक महिलालाई ढुंगा लागेर घाइते भएपछि स्थानीय क्षेत्रमा पुनः तनावको सम्भावना देखिएको छ।
घाइते हुनेमा देवानगन्ज–४ निवासी ३३ वर्षीया सरस्वतीकुमारी मेहता रहेकी छन्। ढुंगा लागेर उनको टाउकोमा चोट लागेको छ। प्रारम्भिक उपचारपछि उनलाई थप उपचारका लागि विराटनगरस्थित न्युरो अस्पतालमा भर्ना गरिएको छ। उनको अवस्था सामान्य रहेको जनाइएको छ।
प्रहरीका अनुसार आइतबार बिहान करिब ११ः३० बजे घाँस काट्न गएका बेला उनलाई ढुंगा लागेको हो। स्थानीयले ग्याँटिसबाट प्रहार गरिएको ढुंगा लागेर उनी घाइते भएको दाबी गरेका छन्। तर ढुंगा कसले प्रहार गरेको भन्ने विषय अझै यकिन नभएको प्रहरीले जनाएको छ।
घटनापछि करिब १५० जना स्थानीय कप्तानगन्ज क्षेत्रमा भेला भएर दोषीको पहिचान गरी कारबाही गर्न माग गर्दै प्रदर्शन गरिरहेका छन्।
घटनापछि सम्भावित तनावलाई मध्यनजर गर्दै सुरक्षा सतर्कता बढाइएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


