सामाजिक सदभाव जोगाउन एआईजी ठाडामगर सक्रिय
सञ्जय मिश्रा,
रौतहट, १७ साउन। सशस्त्र प्रहरी बल नेपालका एआईजी गणेश ठाडा मगर आइतबार महोत्तरीको मटिहानी पुगेका छन्।
उनको स्वागत मटिहानी नगरपालिकाका नगरप्रमुख हरि प्रसाद मण्डलले गरेका थिए।
मटिहानी भ्रमणका क्रममा एआईजी मगरले जनप्रतिनिधि, नागरिक समाज, धार्मिक अगुवा तथा विभिन्न क्षेत्रका व्यक्तिसँग भेटघाट गर्दै नगर संगै सिंगो मधेशको शान्ति सुरक्षा, सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र सामुदायिक एकताबारे छलफल गरेका छन्।
उनले सबै समुदायलाई संयमित रहँदै आपसी विश्वास, संवाद र सहकार्यमार्फत शान्ति कायम राख्न आग्रह गरेको सहभागीहरूले बताएका छन्।
तराई–मधेशका विभिन्न जिल्लामा पछिल्ला दिनमा हिन्दु–मुस्लिम समुदायबीच तनाव र साम्प्रदायिक हिंसाका घटना देखिएपछि सशस्त्र प्रहरी प्रधान कार्यालयले विशेष जिम्मेवारीसहित एआईजी मगरलाई मधेशमा परिचालन गरेको सुरक्षा स्रोतको भनाइ छ। उनले स्थानीय प्रशासन, नेपाल प्रहरी, जनप्रतिनिधि, धार्मिक अगुवा र समुदायबीच समन्वय बढाएर तनावग्रस्त क्षेत्रमा शान्ति, सद्भाव र सामाजिक विश्वास कायम राख्न महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताइएको छ।
एआईजी मगर मधेश प्रदेशमा यसअघि डीआईजी तथा छिन्नमस्ता बाहिनी मुख्यालयका प्रमुखका रूपमा कार्यरत रहँदा पनि सीमा सुरक्षालाई प्रभावकारी बनाउने, तस्करी नियन्त्रणमा कडाइ गर्ने तथा सीमावर्ती क्षेत्रमा हुने अवैध गतिविधिविरुद्ध सक्रिय अभियान सञ्चालन गरेका अधिकारीका रूपमा परिचित छन्।
उनको नेतृत्वमा नेपाल–भारत सीमामा हुने चोरी–तस्करी, अवैध ओसारपसार र सीमापार आपराधिक गतिविधि नियन्त्रणका लागि गस्ती, निगरानी तथा सूचना संयन्त्रलाई थप सुदृढ बनाइएको थियो।
त्यस अवधिमा विभिन्न अवैध कारोबार नियन्त्रण हुनुका साथै सीमा क्षेत्रमा सुरक्षा उपस्थिति प्रभावकारी बनेको भन्दै स्थानीय तह तथा सुरक्षा क्षेत्रका जानकारहरूले उनको कार्यशैलीको सकारात्मक मूल्यांकन गर्ने गरेका छन्।
केही दिन देखी मधेश प्रदेशमा फैलिएको साम्प्रदायिक हिंसा नियन्त्रण तथा सदभाव कायम राख्न सरकारले नेपाल प्रहरीका ए आईजी उमा प्रसाद चतुर्वेदी, सशस्त्र प्रहरीका ए आईजी गणेश ठाडा मगर लगायत सुरक्षा निकायका उच्च अधिकारीहरु लाई बिशेष जिम्मेवारी सहित परिचालन गरेको थियो।


