धनकुटाको हिलेबाट खैरो हेरोइन सहित पाख्रिबासका ३२ वर्षीय युवक पक्राउ
धनकुटा । धनकुटाको हिलेबाट प्रतिबन्धित लागूऔषध खैरो हेरोइनसहित एक जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय धनकुटा र प्रहरी चौकी हिलेबाट खटिएको संयुक्त प्रहरी टोलीले साउन १८ गते साँझ करिब ५ बजे धनकुटा नगरपालिका–१ स्थित हिले क्याम्पस नजिक शंकास्पद रूपमा हिँडिरहेका पाख्रिबास नगरपालिका–७ मुगा टोल निवासी ३२ वर्षीय हरि तामाङलाई पक्राउ गरेको हो।
प्रहरीले खानतलासी गर्दा उनले लगाएको ट्र्याकको अगाडिको बायाँ गोजीमा हरियो प्लास्टिकमा स–साना १८ वटा पोकामा लुकाइछिपाइ राखिएको खैरो हेरोइनजस्तो देखिने लिसाइलो पदार्थ फेला पारेको जनाएको छ। बरामद पदार्थको तौल गर्दा प्लास्टिकसहित १ ग्राम ६८० मिलिग्राम र प्लास्टिकबाहेक १ ग्राम रहेको प्रहरीले जनाएको छ।
प्रहरीले तामाङको साथबाट TECNO SPARK ब्रान्डको एक थान एन्ड्रोइड मोबाइलसमेत बरामद गरेको छ।
घटनामा संलग्न तामाङविरुद्ध धनकुटा जिल्ला अदालतबाट म्याद थप अनुमति लिएर लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।


