धनकुटाको पाख्रिबास स्थित शितलादेबी माबिका १५ वर्षीय विद्यार्थी बेपत्ता,खोजी कार्यमा सहयोगको अपिल
धनकुटा । धनकुटाको पाख्रीवास नगरपालिका–४ स्थित शीतला देवी माध्यमिक विद्यालयको छात्रावासमा बस्दै अध्ययनरत १५ वर्षीय विद्यार्थी कामारान अकमल गत साउन ९ गतेदेखि बेपत्ता भएका छन्।
जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ घर भएका कक्षा ९ मा अध्ययनरत कामारान साउन ९ गते दिउँसो करिब १ बजेदेखि सम्पर्कविहीन भएका हुन्।
विद्यालयका प्रधानाध्यापकले हुलिया सहित लिखित निवेदन दिएपछि जिल्ला प्रहरी कार्यालय धनकुटा तथा मातहतका प्रहरी इकाइबाट खोजतलास कार्य तीव्र रूपमा जारी रहेको प्रहरीले जनाएको छ।
बेपत्ता विद्यार्थीको हुलिया अनुसार उनको वर्ण गहुँगोरो, उचाइ ५ फिट ५ इन्च र तौल करिब ३८ किलोग्राम रहेको छ।
प्रहरीले उक्त हुलियासँग मिल्ने बालक कतै फेला परेमा वा कुनै जानकारी भएमा जिल्ला प्रहरी कार्यालय धनकुटाको ९८५२०९०१६७ वा ९८५२०६१७५५ नम्बरमा सम्पर्क गरी जानकारी गराइदिन सर्वसाधारणसँग अनुरोध गरेको छ।



