झापामा बैंकिङ कसुर मुद्दामा १७ लाख ३९ हजार जरिवाना तिर्न बाँकी फरार प्रतिवादी पक्राउ
झापा, ३० साउन । बैंकिङ कसुर मुद्दामा १७ लाख ३९ हजार ५ सय रुपैयाँ जरिवाना तिर्न बाँकी रहेका एक फरार प्रतिवादीलाई झापाबाट प्रहरीले पक्राउ गरेको छ।
उच्च अदालत विराटनगर, इलाम इजलासको २०७९ माघ ११ गतेको फैसलाअनुसार बैंकिङ कसुर मुद्दामा १७ लाख ३९ हजार ५ सय रुपैयाँ जरिवाना तोकिएका झापा शिवसताक्षी नगरपालिका–११ दुधेका करिब ५६ वर्षीय हर्क धन सेवाले फरार रहेका थिए।
जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको संयुक्त प्रहरी टोलीले उनलाई साउन २९ गते आफ्नै घरबाट पक्राउ गरेको हो।
पक्राउ परेका सेवालाई फैसला कार्यान्वयनका लागि जिल्ला प्रहरी कार्यालय इलामसँग समन्वय गरी बुझाउने प्रक्रिया भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।


