धनकुटाको पाख्रिबासमा लागुऔषध सहित दुई जना पक्राउ
धनकुटा,३१ साउन । धनकुटाको पाख्रीबासमा प्रहरीले लागूऔषध ट्रामाडोल र स्पासपेन सहित दुई जनालाई पक्राउ गरेको छ।
गत साउन ३० गते राति करिब ९ः५० बजे इलाका प्रहरी कार्यालय पाख्रीबासबाट प्रहरी नायब निरीक्षक एकबहादुर बस्नेतको कमाण्डमा खटिएको टोलीले पाख्रीबास नगरपालिका–४ पाख्रीबास बजारमा शंकास्पद अवस्थामा रहेका दुई जनालाई चेकजाँच गरेको थियो।
चेकजाँचका क्रममा पाख्रीबास–४ का २५ वर्षीय निरज भट्टराई र १८ वर्षीय आसन बरुवालको साथबाट ट्रामाडोल १३ पत्ता (१३० क्याप्सुल) र स्पासपेन १३ पत्ता (१३० क्याप्सुल) बरामद भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।
प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय धनकुटामा ल्याएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

