पाख्रिबासमा निम्स दाइ र टोलीको स्मृतिमा श्रद्धाञ्जली कार्यक्रम
धनकुटा, साउन ३१ गते । धनकुटाको पाख्रिबास नगरपालिका–४ स्थित श्री सयपत्री अंग्रेजी माध्यमिक विद्यालयमा नेपालका वीर पर्वतारोही निर्मल पुर्जा (निम्स दाइ) तथा उहाँको टोलीको स्मृतिमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरिएको छ।
विद्यालयको विद्यार्थी परिषद्को आयोजनामा भएको कार्यक्रममा विद्यार्थी, शिक्षक तथा सहभागीहरूले दिवंगत वीरहरूको तस्बिरमा पुष्प अर्पण गर्दै भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका थिए।
कार्यक्रममा सहभागीहरूले राष्ट्रका लागि गौरव र प्रेरणाको स्रोत बनेका वीर पर्वतारोहीहरूको साहस, योगदान र समर्पणको स्मरण गर्दै उनीहरूको योगदान सधैँ सम्झनामा रहने बताए।
वीरहरू भौतिक रूपमा हामीमाझ नरहे पनि उनीहरूले देखाएको साहस, समर्पण र प्रेरणा सदैव जीवित रहने सहभागीहरूले बताएका छन्।

