अपडेट : जाजरकोटमा पहिरोमा परी दुई जनाको मृत्यु, दुई बेपत्ता
जाजरकोट, साउन ३१ गते । जाजरकोटको भेरी नगरपालिका–२ रिसाङ तथा आसपासका क्षेत्रमा अविरल वर्षापछि गएको पहिरोमा परी दुई जनाको मृत्यु भएको छ भने दुई जना अझै सम्पर्कविहीन छन्। पहिरोमा परी केही व्यक्ति घाइते भएका छन् भने घर तथा टहरा पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्।
२०८३ साउन ३० गते दिउँसो करिब ४ बजेदेखि परेको अविरल वर्षाका कारण भेरी नगरपालिका–२ रिसाङलगायत आसपासका विभिन्न स्थानमा पहिरो गएको हो। पहिरोपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली खोज तथा उद्धारमा परिचालन गरिएको छ।
पहिरोमा परी घाइते भएका भेरी नगरपालिका–२ का करिब ५२ वर्षीय केदार कार्कीको उपचारका क्रममा मेडिकल कलेज कोहलपुरमा साउन ३१ गते बिहान ४ः५० बजे मृत्यु भएको छ। यसअघि सोही वडाको फारुलाका करिब ५४ वर्षीय उमासिंह खत्री आफ्नै घर भत्किएर पुरिएको अवस्थामा बिहान ८ः५५ बजे मृत फेला परेका थिए।
पहिरोमा परी भेरी नगरपालिका–२ रिसाङका ६० वर्षीय रामबहादुर शाही गम्भीर घाइते भएका छन्। आरनमा काम गरिरहेको अवस्थामा माथिबाट पहिरो खस्दा उनको छाती, टाउको र हातमा चोट लागेको थियो। जिल्ला अस्पताल जाजरकोटमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि उनलाई नेपालगञ्ज हुँदै मेडिकल कलेज कोहलपुर लगिएको छ।
आरन सञ्चालक ४५ वर्षीय सिद्धिबहादुर कामीको ढाडमा चोट लागेको छ। जिल्ला अस्पताल जाजरकोटमा उपचारपछि उनलाई साउन ३१ गते बिहान ७ः१५ बजे थप उपचारका लागि मेडिकल कलेज कोहलपुर रिफर गरिएको छ।
भेरी नगरपालिका–२ चिसापानीकी ५७ वर्षीया भद्राकली कार्की पनि शरीरका विभिन्न भागमा चोट लागेर गम्भीर घाइते भएकी छन्। उनलाई जिल्ला अस्पताल जाजरकोटमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि मेडिकल कलेज कोहलपुर रिफर गरिएको छ।
यस्तै, भेरी नगरपालिका–१ डौरीकाँडाका ४५ वर्षीय मनवीर चदरा टाउकोमा चोट लागेर घाइते भएका छन्। उनको स्थानीय मेडिकलमा उपचार भइरहेको छ। सोही स्थानका १६ वर्षीया मनिषा विक र ४७ वर्षीया मोतीकला विक पनि घाइते भएका छन्।
दुई जना अझै सम्पर्कविहीन
पहिरो आएपछि भाग्ने क्रममा भेरी नगरपालिका–२ चिसापानीका करिब ७० वर्षीय भीमबहादुर कार्की र सोही वडाकी करिब ८७ वर्षीया रती खत्री सम्पर्कविहीन भएका छन्। उनीहरूको खोजी तथा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ।
तीन जना उपचारपछि डिस्चार्ज
पहिरोमा परी घाइते भएका भेरी नगरपालिका–२ की करिब २३ वर्षीया अनिता कार्की, १० वर्षीय युनिश शाही र ४५ वर्षीया सुन्तली चदराको जिल्ला अस्पताल जाजरकोटमा उपचारपछि साउन ३० गते राति १२ बजे डिस्चार्ज गरिएको छ।
घर तथा टहरा पूर्ण रूपमा क्षति
पहिरोले भेरी नगरपालिका–३ स्यालाका पूर्णबहादुर विकको ६ कोठे दुईतले ढुंगा–माटोले बनेको कच्ची घर पूर्ण रूपमा क्षति भएको छ। घरमा रहेका पाँच जनाको परिवार आफन्तको घरमा आश्रय लिएर बसेका छन्।
सोही स्थानका भैरवी केसीका दुईवटा टिनका अस्थायी टहरा पनि पूर्ण रूपमा भत्किएका छन्। ती टहरामा भने हाल मानिस बसोबास नगरेको बताइएको छ।
२०० भन्दा बढी मानिस सुरक्षित स्थानमा
पहिरोको जोखिममा रहेका भेरी नगरपालिका–२ रिसाङ क्षेत्रका करिब ६०–७० घरपरिवारका १५० देखि २०० जनालाई त्रिभुवन आधारभूत विद्यालयको भवनमा सुरक्षित राखिएको छ।
यस्तै, झ्यालीखेत डाँडामा १६ जना, चिसापानीमा २० जना, राउटेरे डाँडामा १५ जना र रिसाङ फारुलामा तीन जनासहित थप ५४ जनालाई सुरक्षित स्थानमा सारिएको छ।
पहिरोका कारण विभिन्न स्थानमा सडक तथा बाटो अवरुद्ध भएकाले सुरक्षाकर्मीहरू जोखिमका बीच पैदलमार्फत घटनास्थल पुगेर बेपत्ताको खोजी, घाइतेको उद्धार तथा प्रभावितलाई सुरक्षित स्थानमा सार्ने काममा जुटिरहेका छन्।

