चितवनमा बाघको आक्रमणबाट ६० वर्षीय पुरुष घाइते, बाघ नियन्त्रणमा
चितवन । चितवनको राप्ती नगरपालिका–१ डिपाट बस्तीमा बाघको आक्रमणबाट एक जना घाइते भएका छन्। बाघको आक्रमणबाट स्थानीय ६० वर्षीय ठाकुर अधिकारी घाइते भएका हुन्।
आज बिहान करिब ६ः४० बजे बस्तीमा आएको बाघले अधिकारीमाथि आक्रमण गरेको थियो। आक्रमणबाट उनको तिघ्रामा सामान्य चोट लागेको छ। घाइते अधिकारीको भरतपुर सरकारी अस्पतालमा उपचार भइरहेको छ।
बाघले सोही स्थानकी दिला कुमारी तामाङको गोठमा बाँधिएको जर्सी गाईलाई समेत आक्रमण गरेको थियो। आक्रमणबाट गाई सामान्य घाइते भएको जनाइएको छ।
बाघ बस्तीमा प्रवेश गरेपछि चितवन राष्ट्रिय निकुञ्जबाट हात्तीसहितको टोली परिचालन गरी खोजतलास गरिएको थियो। खोजीका क्रममा बिहान ११ः२७ बजे बाघलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

