धनकुटामा प्रतिबन्धित लागूऔषध सहित दुई जना पक्राउ
धनकुटा,१ भदौ । धनकुटामा प्रहरीले प्रतिबन्धित लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार सोमबार अपराह्न ४ः३० बजे प्रहरी चौकी मुलघाटबाट खटिएको चेकिङ टोलीले धनकुटा नगरपालिका–९, मुलघाटस्थित कोशी लोकमार्गमा धरानबाट धनकुटातर्फ आउँदै गरेको प्रदेश नं. १–०२–०४४ प ३५८ नम्बरको मोटरसाइकल शंका लागेर जाँच गरेको थियो।
जाँचका क्रममा मोटरसाइकल चालक धनकुटा नगरपालिका–५, बालमन्दिरका २४ वर्षीय मनकुमार राई र पछाडि सवार सोही स्थानका २० वर्षीय विजय राईलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
विजय राईले बोकेको निलो रङको झोलाबाट Tramol-50 लेखिएको Tramadol Hydrochloride Capsules IP का २२ पत्ता (२२० क्याप्सुल), Dcyclo-20 लेखिएको Dicyclomine Hydrochloride Tablets IP का २० पत्ता (२०० क्याप्सुल) र SPASPAIN लेखिएको २ पत्ता (१९ क्याप्सुल) बरामद भएको प्रहरीले जनाएको छ।
बरामद लागूऔषध, मोटरसाइकलसहित दुवै जनालाई जिल्ला प्रहरी कार्यालय धनकुटामा ल्याई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

