ट्रकको ठक्करबाट स्कुटर चालक महिलाको मृत्यु
कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–१ कट्टिपुरस्थित पूर्व–पश्चिम राजमार्गमा ट्रकले ईभी स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ।
सोमबार बिहान करिब ८ बजे पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको सुुदूरपश्चिम प्रदेश ०१–००१ ख ३६९५ नम्बरको ट्रकले सोही दिशातर्फ गइरहेको लु.प्र.०१०१० प ००४५ नम्बरको ईभी स्कुटरलाई ठक्कर दिएको हो।
ट्रक नवलपरासी (सुस्ता पूर्व) कावासोती नगरपालिका–१६ डण्डाका २६ वर्षीय दिनेश गिरीले चलाएका थिए भने स्कुटर बर्दगोरिया गाउँपालिका–४ की ६२ वर्षीया सावित्री देवी सापकोटाले चलाएकी थिइन्।
दुर्घटनामा गम्भीर घाइते भएकी सापकोटाको दोदोधरा अस्पताल प्रालि, मुडागाउँमा उपचारका क्रममा बिहान ८ः४० बजे मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनापछि ट्रक, ईभी स्कुटर र ट्रक चालक गिरीलाई इलाका प्रहरी कार्यालय सडकपुर, कैलालीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

