लागूऔषध सहित झापा, मोरङ, सुनसरी र धनकुटाबाट ८ जना पक्राउ
विराटनगर । प्रहरीले झापा, मोरङ, सुनसरी र धनकुटाका विभिन्न स्थानबाट लागूऔषधसहित ८ जनालाई पक्राउ गरेको छ।
झापाको बाह्रदशी गाउँपालिका–३ मा साउन ३१ गते विशेष सूचनाका आधारमा लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय राजगढबाट खटिएको टोलीले तीन जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा बाह्रदशी–३ का २० वर्षीय मनिष राजवंशी, २१ वर्षीय फागुलाल राजवंशी र कचनकवल गाउँपालिका–१ का २० वर्षीय प्रकाश हरिजन रहेका छन्। उनीहरूको साथबाट १३ ग्राम ६४ मिलिग्राम ब्राउन सुगर र डिजिटल तराजु १ थान बरामद भएको प्रहरीले जनाएको छ।
त्यस्तै, बिर्तामोड नगरपालिका–६ स्थित बुट्टाबारी–बसपार्क क्षेत्रमा अस्थायी प्रहरी चौकी बुट्टाबारीबाट खटिएको टोलीले मे.८ प ४१०५ नम्बरको मोटरसाइकल चालक बिर्तामोड–७ का २३ वर्षीय सलिन सेखलाई पक्राउ गरेको छ। उनको साथबाट ८३० मिलिग्राम ब्राउन सुगर बरामद भएको छ।
मोरङको पथरीशनिश्चरे नगरपालिका–१ स्थित आफ्नै घरबाट प्रहरीले ३९ वर्षीया शान्ति आङदेङवालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको टोलीले उनलाई १ ग्राम ५९० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो।
यसैगरी, सुनसरीको इनरुवा नगरपालिका–९ बाट अस्थायी प्रहरी पोष्ट साम्बलाबाट खटिएको टोलीले हरिनगर गाउँपालिका–१ का नसिम अख्तरलाई पक्राउ गरेको छ। उनको साथबाट NITZASCEN र TAPENTADOL गरी ७४३ चक्की बरामद भएको प्रहरीले जनाएको छ।
धनकुटाको धनकुटा नगरपालिका–९ मुलघाटबाट प्रहरी चौकी मुलघाटको टोलीले प्रदेश १–०२–०४४ प ३५८ नम्बरको मोटरसाइकलमा सवार दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनकुटा नगरपालिका–५ का मोटरसाइकल चालक मनकुमार राई र पछाडि सवार विजय राई रहेका छन्। उनीहरूको साथबाट ट्रामाडोल, डाइक्लोमाइन र स्पास्पेन गरी ४३९ क्याप्सुल बरामद भएको छ।
पक्राउ परेका सबैमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

