जीप सडकबाट दुई सय मिटर तल खस्दा दुई जनाको मृत्यु, चार घाइते
काभ्रे । काभ्रेको खानीखोला गाउँपालिका–१ स्याउलीथलीमा बोलेरो जीप सडकबाट करिब २०० मिटर तल खसेर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
पनौती–तालढुङ्गा भित्री सडकखण्डअन्तर्गत स्याउलीथलीमा बा १८ च २४२ नम्बरको बोलेरो जीप सडकबाट करिब २०० मिटर तल खसेको हो। दुर्घटनाका बेला जीपमा चालकसहित ११ जना सवार रहेको बताइएको छ।
दुर्घटनामा खानीखोला गाउँपालिका–२ की अन्दाजी २४ वर्षीया अनिता मोक्तान र खानीखोला गाउँपालिका–४ का अन्दाजी ६१ वर्षीय कलकबहादुर माझीको घटनास्थलमै मृत्यु भएको छ।
दुर्घटनामा घाइते भएका चार जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरी धुलिखेल अस्पताल पुर्याइएको छ। घाइतेमध्ये सूर्यविनायक नगरपालिका–८, भक्तपुरका अन्दाजी २५ वर्षीय राहुल र चौतारा साँगाचोकगढी नगरपालिका–९, सिन्धुपाल्चोकका अन्दाजी ५७ वर्षीय भलपति ढकालको अवस्था गम्भीर रहेको छ।
त्यस्तै, खानीखोला गाउँपालिका–३ का अन्दाजी २४ वर्षीय प्रदीप जर्घामगर र खानीखोला गाउँपालिका–५ का अन्दाजी ४८ वर्षीय बहुतमान रुम्बाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
दुर्घटनापछि जीप चालक सिन्धुलीको सुनकोशी गाउँपालिका निवासी २८ वर्षीय यसबहादुर तामाङ सम्पर्कविहीन छन्। उनको खोजतलास भइरहेको प्रहरीले जनाएको छ।
दुर्घटनाको कारण खुल्न बाँकी रहेको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

