उच्च पदस्थ व्यक्तिको नाम लिएर मुद्दा मिलाइदिने भन्दै ठगी गर्न खोज्ने व्यक्ति पक्राउ
काठमाडौँ । उच्च पदस्थ व्यक्तिहरूसँग आफ्नो सम्पर्क रहेको भन्दै कारागारमा रहेका व्यक्तिका आफन्तलाई मुद्दा मिलाएर छुटाइदिने आश्वासन दिई अनुचित प्रभावमा पार्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा गोरखाको बारपाक सुलिकोट गाउँपालिका–१ घर भई हाल ललितपुर बस्दै आएका ५४ वर्षीय जितबहादुर घले रहेका छन्।
घलेले उच्च पदस्थ व्यक्तिहरूसँग सम्पर्क तथा सम्बन्ध रहेको दाबी गर्दै कारागारमा थुनामा रहेका व्यक्तिका आफन्तलाई उनीहरूको मुद्दा मिलाइदिने र छुटाइदिने भन्दै अनुचित प्रभावमा पार्ने तथा दुःख–हैरानी दिने गरेको प्रहरीको भनाइ छ।
जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले घलेलाई नियन्त्रणमा लिएको हो। उनीविरुद्ध अभद्र व्यवहार गर्न नहुने कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

