सिकार खेल्ने क्रममा भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु,दुई पक्राउ
धनगढी । कैलालीमा सिकार खेल्ने क्रममा भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु भएको छ।
जिल्लाको बर्दगोरिया गाउँपालिका–३ स्थित लालिगुराँस सामुदायिक जङ्गलमा भदौ २ गते सिकार खेल्ने क्रममा भरुवा बन्दुकको गोली लागेर ४३ वर्षीय पदमबहादुर विश्वकर्माको मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार कृष्णबहादुर बुढा क्षेत्रीले जङ्गली बँदेललाई गोली हान्ने क्रममा गोली विश्वकर्माको दाहिने छातीमा लागेको थियो। गम्भीर घाइते भएका विश्वकर्मालाई उपचारका लागि लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।
घटनापछि विश्वकर्माको शव जङ्गलमा लगेर राखी भागेको आरोपमा मृतकका भाइ गणेश विश्वकर्माले दिएको जाहेरीका आधारमा प्रहरीले कृष्णबहादुर बुढा क्षेत्री र राकेश डगौरा थारुलाई पक्राउ गरेको छ।
प्रारम्भिक अनुसन्धानका क्रममा घटनामा प्रयोग भएको भरुवा बन्दुक राकेशले जडैठाँडास्थित काँडा नदीको बगरमा माटोमुनि लुकाएको खुलेको प्रहरीले जनाएको छ। प्रहरीले उक्त स्थानबाट दुई थान भरुवा बन्दुकसमेत बरामद गरेको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

