थाइल्यान्डबाट ८.२३८ किलो गाँजा ल्याएको आरोपमा दुई म्यानमार नागरिक पक्राउ
काठमाडौँ । थाइल्यान्डबाट नेपाल ल्याइएको ८.२३८ किलो गाँजासहित दुई जना म्यानमार नागरिक पक्राउ परेका छन्।
लागूऔषध नियन्त्रण ब्यूरोका अनुसार थाइल्यान्डबाट नेपालमा लागूऔषध तस्करी हुन सक्ने शंकित यात्रुको प्रोफाइलिङ गर्ने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित ब्यूरो शाखा कार्यालय गौचरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
प्रहरीले भदौ ५ गते नेपाल एयरलाइन्सको उडान नम्बर RA 402 मार्फत थाइल्यान्डको सुवर्णभूमिबाट नेपाल आएका उनीहरूलाई सुटकेसभित्र लुकाएर ल्याएको ८.२३८ किलो गाँजासहित पक्राउ गरेको जनाएको छ।
पक्राउ पर्नेमा म्यानमारको याङ्गुन घर भएकी २७ वर्षीया AYE THIDA AUNG र सोही स्थानका २९ वर्षीय NAY THU REIN रहेका छन्।
प्रहरीले उनीहरूको साथबाट ८.२३८ किलो गाँजा, दुई थान पासपोर्ट र दुई थान मोबाइल फोन बरामद गरेको छ।
पक्राउ परेकाहरूमाथि लागूऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको लागूऔषध नियन्त्रण ब्यूरोले जनाएको छ।

