मंगलवारदेखि जनकपुरधामस्थित अतिक्रमित पोखरीहरुको रेखांकन
एसके कर्ण/
जनकपुरधाम, ७ भदाैं । गुठी संस्थानले जनकपुरधामस्थित आफू मातहतको अतिक्रमित विभिन्न ७ वटा पोखरीको डिलहरु खाली गराएकाे छ ।
संस्थानले छनौट गरेका अतिक्रमित ४९ वटा पोखरी मध्ये रेखांकन गरी पहिलो चरणमा शनिवार ७ वटा पोखरीको अतिक्रमित डिलहरु खाली गराएकाे हाे ।
तोकिएका ४९ वटा पोखरी मध्ये गुठीको जग्गा संरक्षण र व्यवस्थापनका लागि गठित ‘उच्चस्तरीय कार्यदलको प्रतिवेदन–२०६२ कार्यान्वयन समिति’ ले १३ वटा पोखरीको अतिक्रमित डिल जग्गाको नक्सांकन मात्र गरेका छ्न । ती मध्ये ७ वटा पोखरीको अतिक्रमित डिल खाली गराइएको हो।
जस अन्तर्गत ६५ वटा घर भत्काइएको छ भने डोजर जाने अवस्था नरहेकाले केही बाँकी रहेकाहरु एक साताभित्र आफै भत्काउन नभएर लेबर राखेर भत्काइने गुठी संस्थान जनकपुरधामका किशोर कुमार झाले जानकारी दिए ।
समितिका सदस्य सचिव जनक पोखरेलको नेतृत्वमा आएका टोली आइतवार काठमाडौ फर्किसकेका छन । पुनः नापजाँच रेखांकनका लागि टोली जनकपुरधाम आउने जनाइएको छ । उनका अनुसार पर्सी मंगलवारदेखि बाँकी रहेका अन्य पोखरीहरुको नापजाँच र रेखांकनको काम शुरु गरिने समितिका सदस्य सचिव पोखरेलले जानकारी दिएका छन् । उनले भने पहिलो चरणमा हामीले ७ वटा पोखरीबाट अतिक्रमणमुक्त अभियान थालेका थियौं । अब नक्सांकनपछि बढी पोखरीलाई समेटेर सार्वजनिक सूचना जारी अभियानलाई तीव्ररुपमा अघि बढाउनेछौंं ।
कडा सुरक्षाका बीच शनिवार गिरनारी (गोरधोइ) पोखरी, दिर्घीका सर, मुरली सर, रत्नसागर, अर्गजा सर, दशरथ तलाउ र विसहरा तलाउको अतिक्रमण डोजर प्रयोग गरेर खाली गराइको हो । पहिलो चरणमा पोखरी, दोश्रो चरणमा मन्दिर परिसर र तेस्रो चरणमा अन्य अतिक्रमणमुक्त गराउने कार्ययोजनासहित वर्गीकरण गरिएको पोखरेलको भनाई छ ।
अतिक्रमणमुक्त गर्दा २०६२ सालमा जनकपुरको गुठीको अतिक्रमित जग्गा पत्ता लगाउन गठन गरिएको भोजराज घिमिरे नेतृत्वको कार्यदलको प्रतिवेदनको आधार लिइएको बुझिएको छ ।

