उदयपुर र सुनसरीबाट लागूऔषध र प्रतिबन्धित औषधि सहित ७ जना पक्राउ
विराटनगर, भदौ १३ गते । उदयपुर र सुनसरीबाट प्रहरीले लागूऔषध तथा प्रतिबन्धित औषधिसहित ७ जनालाई पक्राउ गरेको छ।
भदौ १२ गते उदयपुरको बेलका नगरपालिका–५ शिखरमाडीबाट इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरी टोलीले स्थानीय २५ वर्षीय आशिष राईलाई पक्राउ गरेको हो। उनको साथबाट ट्रामाल्याब २२४ क्याप्सुल र डिक्लो स्पास २१५ ट्याब्लेट प्रतिबन्धित औषधि बरामद गरिएको प्रहरीले जनाएको छ।
यसैगरी, सुनसरीको कोशी गाउँपालिका–३ स्थित श्रीपुर जाने बाटोको जंगलमा त्रिपालले छोपेर राखिएको अवस्थामा प्रहरीले १७ बोरामा रहेको ५७५ किलोग्राम गाँजा बरामद गरेको छ। उक्त गाँजा बेवारिसे अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
यस्तै, इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी टोलीले इटहरी उपमहानगरपालिका–१ बाट मोरङको बेलबारी नगरपालिका–११ का ४७ वर्षीय दिनेश दाहाल र सुन्दरहरैंचा नगरपालिका–६ का १८ वर्षीय अरुण मगरलाई पक्राउ गरेको छ। उनीहरूको साथबाट नाइटोसन ७४ ट्याब्लेट र डिसिकोमाइन ८ क्याप्सुल प्रतिबन्धित औषधि बरामद गरिएको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीले इटहरी उपमहानगरपालिका–५ का ३५ वर्षीय सुमन कार्कीलाई ८२० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ।
त्यसैगरी, इलाका प्रहरी कार्यालय महेन्द्रनगरले प्र.०१–०२–०५२ प ९४०३ नम्बरको मोटरसाइकलमा सवार बराहक्षेत्र नगरपालिका–१० का १९ वर्षीय चालक दिप कार्की र १९ वर्षीय कृष्ण आचार्यलाई पक्राउ गरेको छ। उनीहरूको साथबाट ट्रामाडोल ६५० क्याप्सुल र स्पासरेस्ट ५० ट्याब्लेट प्रतिबन्धित औषधि बरामद भएको प्रहरीले जनाएको छ।
पक्राउ परेकाहरूलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि सम्बन्धित प्रहरी कार्यालयमा राखिएको छ।


