पैसा अभावमा अस्पताल अगाडि फुटपाथमै महिलाले जन्माइन् बच्चा
सुभाष कायस्थ /जनकपुरधाम, २५ भदौ । सप्तरीको राजविराजस्थित गजेन्द्र नारायणसिंह सगरमाथा अस्पतालमा पैसा अभावले समयमै उपचार तथा भर्ना नपाउँदा एक विपन्न महिलाले अस्पताल अगाडिकै सडकको फुटपाथमा बच्चा जन्माएकी छन् ।
मंगलवार राति सुत्केरीका लागि अस्पताल पुगेकी राजविराज नगरपालिका–१४ परासी टोलकी हरेराम पासवानकी श्रीमती अस्पतालमा भर्ना भए पनि पैसा अभावमा सुत्केरी गराउन पाइनन् । प्रत्यक्षदर्शीका अनुसार सुत्केरीका लागि भर्ना भएकी ती महिलाका अभिभावकलाई प्याथलोजी टेस्ट गराएर आउन अस्पतालका कर्मचारीले भने । त्यसको केहीबेरपछि अस्पतालको महिलाका अभिभावकले पैसा छैन टेस्ट कहाँबाट गराउन भनेपछि अस्पताल कर्मचारीले टेस्टबिना सुत्केरी गराउन नसक्ने भनेपछि अभिभावकले प्रसव पीडा भइरहेकै क्रममा बेडबाट महिलालाई लिएर लगे । प्रसव पीडाले घर जान नसकेकी महिला अस्पताल अगाडि नै डुलिरहिन् । अन्ततः राति करिब साढे २ बजेतिर अस्पताल अगाडिकै सडक फुटपाथमा उनले बच्चा जन्माउन बाध्य भइन् ।
अस्पताल अगाडि ती महिला बच्चा जन्माइरहेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । सरकारी अस्पताल भनेको गरिब निमुखाका लागि रहेको भनिँदै आएको छ । तर पैसा आभावमा गरिबले उपचार पाउन नसक्नु अस्पताल प्रशासन र राज्यको स्वास्थ्य उपचार प्रणालीमाथि गम्भीर प्रश्न उठेको छ ।
यता अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट रञ्जित झाले भने, ‘अस्पतालमा ती महिला सुत्केरीका लागि भर्ना हुन आएको थिइन् । डियुटीमा रहेका कर्मचारीले प्रक्रियागत रुपमा प्याथलोजी टेस्ट गराएर आउन भनेपछि टेस्ट गराएर आउँछु भनेर बिलिङ काउन्टरसम्म पनि नपुगी उनी त्यहाँबाट गएका हुन् । पछि थाहा भयो, अस्पताल अगाडि सडकको फुटपाथमा बच्चा जन्मियाे भन्ने ।’
उनले प्याथलोजी टेस्टबिना सुत्केरी नहुने भन्दै टेस्टवापतको रकम त सम्बन्धित व्यक्तिले नै तिर्नुपर्ने बताए। अस्पतालमा यस्ता धेरै बिरामी आउने गरेकाे भन्दै उनले कर्मचारी प्रक्रिया बाहिर गएर काम गर्न नसक्ने बताए ।
अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको भिडियोमा एक महिला अस्पतालको मूल गेटअगाडि फुटपाथमा प्रसव पीडामा छटपटाइरहेको तथा त्यहीँ बच्चा जन्माइरहेको देखिन्छ । भिडियोमा वरपरका मानिसहरू समेत उपस्थित रहेको देखिन्छ ।
पैसा अभावकै कारण प्रसव पीडामा रहेकी महिलालाई अस्पतालमा भर्ना नगरिएको पुष्टि भएमा यो घटना नेपालको निःशुल्क आधारभूत तथा आकस्मिक स्वास्थ्य सेवाको व्यवस्थाको खेलवाड रहेको भन्ने आलोचना भइरहेको छ ।
घटनाबारे सामाजिक सञ्जालमा व्यापक आलोचना भइरहेको छ। स्थानीयवासी तथा अधिकारकर्मीहरूले घटनाको निष्पक्ष छानबिन गरी वास्तविकता सार्वजनिक गर्न र दोषी देखिएमा सम्बन्धित पक्षलाई कारबाही गर्न माग गरिरहेका छन् ।

