धनकुटाको हिलेमा भोटेकोशी बाढीमा ज्यान गुमाएकाहरूको आत्माको चिरशान्तिको कामना गर्दै हजार बत्ती दीप प्रज्वलन तथा म्हानी मोलम
मानवी मोक्तान,धनकुटा । धनकुटाको हिलेमा रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढी–पहिरोमा परी ज्यान गुमाएकाहरूको चिरशान्तिको कामना गर्दै हजार बत्ती छ्युमी दीप प्रज्वलन तथा म्हानी मोलम गरिएको छ ।
गत भदौ १० गते आएको विनाशकारी बाढी–पहिरोको आज २१ दिन पुगेको अवसरमा ङाग्युर निङमा उर्गेन नम्डोल छ्योेलिङ गुम्बा हिलेको आयोजनामा विशेष पूजापाठसहित धार्मिक अनुष्ठान गरिएको हो ।
गुम्बाका प्रमुख लामा गुरु दोर्जे उक्याप लामाहरूबाट मोलम पाठ तथा हजार बत्ती दीप प्रज्वलन गरिएको आयोजकले जनाएको छ ।
बाढी–पहिरोमा परी ज्यान गुमाएकाहरूको आत्माको चिरशान्तिको कामना गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ तथा अझै आफन्तको सम्पर्कमा आउन नसकेका प्रभावितहरूको उद्धार र पुनर्मिलनको कामनासहित म्हानी मोलम पाठ गरिएको हो ।साथै, विपद्मा परी घाइते भएका तथा प्रभावित सम्पूर्ण परिवारलाई दुःख सहन सक्ने धैर्य, साहस र शक्ति प्राप्त होस् भन्दै प्रार्थना गरिएको छ ।
धार्मिक अनुष्ठानमा पाख्रीबास नगरपालिका–९, उत्तरपानीका तामाङ समुदायसहित धनकुटा हिलेबजारका तामाङ समुदायको उपस्थिति रहेको थियो । स्थानीय तामाङ समुदाय, समाजसेवी तथा बुद्धिजीवीहरूको सहभागितामा गरिएको दीप प्रज्वलन तथा म्हानी मोलम पाठले विपद्मा ज्यान गुमाएकाहरूको चिरशान्तिको कामना गर्नुका साथै प्रभावित परिवारप्रति धार्मिक तथा सामाजिक ऐक्यबद्धता प्रकट गरेको छ ।
पूजापाठ तथा म्हानी मोलमका लागि तामाङ समाङ समुदाय धनकुटाले व्यवस्थापन गरेको समाजसेवी तथा बुद्धिजीवी धनबहादुर मोक्तानले बताउनुभएको छ ।
त्यस्तै, धार्मिक अनुष्ठानका लागि हाल युकेमा रहनुभएका पाख्रीबास नगरपालिका–९, उत्तरपानी निवासी समाजसेवी तथा बुद्धिजीवी सेतुलाल मोक्तान ‘दिनेश’ले सहयोग गर्नुभएको जनाइएको छ ।
विनाशकारी बाढी–पहिरोमा ज्यान गुमाएकाहरूको आत्माको चिरशान्ति, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ तथा प्रभावित परिवारमा सुख, शान्ति र धैर्यको कामना गर्दै धार्मिक अनुष्ठान गरिएको आयोजकले जनाएको छ ।




