ट्याक्टर दुर्घटनामा चालकको मृत्यु
नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को बिनयी त्रिवेणी गाउँपालिका–४ पिधरीस्थित होङ्सी–दुम्किबास भित्री सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
पिधरीबाट दुम्किबासतर्फ आउँदै गरेको लु.४ त ५५०५ नम्बरको ट्याक्टर चलाइरहेका स्थानीय ४५ वर्षीय ओमबहादुर पल्ली मगरले नियन्त्रण गुमाउँदा दुर्घटना भएको हो। ट्याक्टर सडकको बायाँतर्फ रहेको माटोको ढिस्कोमा ठोक्किएर सडकमा खसेपछि चालक मगर घाइते भएका थिए।
घाइते मगरलाई उद्धार गरी मध्यबिन्दु प्रादेशिक अस्पताल, डण्डा पुर्याइएको थियो। तर, अस्पतालका चिकित्सकले बिहान ८ः४५ बजे उनलाई मृत घोषणा गरेका प्रहरीले जनाएको छ।
दुर्घटनामा ट्याक्टर सडकबाट करिब ५० मिटर तल खेतमा पुगेको छ।
घटनाबारे थप अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय दुम्किबासबाट प्रहरी निरीक्षक थमन सिंह रानाको कमाण्डमा ७ जनाको प्रहरी टोली घटनास्थलतर्फ खटिएको छ।

