प्रोत्साहन भत्ताकाे माग सहित प्रदेश अस्पताल सुर्खेतका डाक्टर हडतालमा, विरामीकाे बिचल्ली
शेरबहादुर थापा/
सुर्खेत, २० असोज । कर्णाली प्रदेश अस्पताल कालागाउँमा छात्रवृत्ति कोटामा काम गरिरहेका ५८ जना स्वास्थ्यकर्मी हडतालमा उत्रिएपछि कर्णालीका हजारौँ सेवाग्राही समस्यामा परेका छन् ।
प्रदेश अस्पतालमा छात्रवृत्ति दरवन्दीमा खटिआएका नवौँ, आठौँ र नर्सहरु हडतालमा उत्रिएसँगै अन्य दरवन्दीमा काम गरिरहेका डाक्टरले समेत मंगलबार सेवा नदिँदा विरामीहरु लाईनमा बस्दै हाई काड्नुपर्ने अवस्था सिर्जना भएको हो । विरामीहरु लाईनमा बसे पनि ओपिडी सेवा दिइने कोठामा न्यूज कारखानाकर्मी पुग्दा डाक्टरहरु भेटिएनन ।
‘उहाँहरु आन्दोलनमा हुनुहोला, तर हाम्रा विरामी यहाँ अस्पतालमा छटपटाइरहेका छन्,’ दैलेखका सन्दीप आचार्यले भने, ‘विहान ६ बजेदेखि अहिलेसम्म उपचारको लागि हारगुहार गर्दै आइरहेका छाँ, हाम्रो कुरा सुन्ने कोही भएनन् ।’
उनले मात्रै होइन, सयौँ विरामीहरु विहानदेखि नै अस्पतालमा पुगेका भए पनि छात्रवृत्ति दरवन्दीका स्वास्थ्यकर्मी हडतालमा उत्रिँदा अन्य स्वास्थ्यकर्मी भने हाईसुख मान्दै उपचार कर्ममा नखट्दा विरामीहरुलाई सास्ती भएको हो ।
संर्घष समितिका संयोजक डा. विशाल कार्कीले आफूहरुलाई प्रदेश सरकारले कर्णाली प्रोत्साहन भत्ता नदिएकाले बाध्य भएर हडतालमा उत्रिनुपरेको बताए । ‘साउनदेखि हामीले प्रोत्साहन भत्ता पाएका छैनौँ,’ उनले भने, ‘त्यो भत्ता नपाएसम्म हामी काममा फर्कदैनौँ ।’ उनले अन्य स्वास्थ्यकर्मी किन उपचारमा खटिएनन भन्ने बारेमा आफूलाई कुनै जानकारी नभएको बताउँदै छात्रवृत्ति दरवन्दीमा आएका स्वास्थ्यकर्मीको मात्रै हडताल भएको जानकारी दिए ।
प्रदेश अस्पतालका निर्देशक डा. गणेश थापाले प्रदेश सरकारले कर्णाली प्रोत्साहन भत्ता उपलब्ध नगराएकोभन्दै ती स्वास्थ्यकर्मी आन्दोलनमा गएको बताए ।
‘उहाँहरु आन्दोलनमा जानु भएको छ । उहाँहरुका लागि चालु आर्थिक वर्षमा बजेटको व्यवस्था छैन । बजेटको व्यवस्था नभएका कारण हामीले प्रोत्साहन भत्ता हामीले दिनसक्ने अवस्था छैन,’ उनले भने, ‘उहाँहरुको साउनदेखि बाँकी छ । नवौँ तहका डाक्टरले तलबको ७५ प्रतिशत, आठौँ तहका डाक्टरले ५० प्रतिशत र अन्य स्वास्थ्यकर्मीको हकमा चार हजारका दरले थप भत्ता दिईने गरिएको थियो ।’
आफूहरुले आन्दोलनरत स्वास्थ्यकर्मीलाई काममा फर्कन अनुरोध गरेको बताउँदै हातमा नगद वा लिखित निर्णय नभएसम्म काममा नफर्कने उनिहरुले माग गरिरहेको बताए ।
सामाजिक विकास मन्त्रालयले भने स्वास्थ्यकर्मीको यो हर्कत प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
‘कर्णाली प्रदेश अन्तर्गतका स्वास्थ्य सेवा कार्यालय तथा स्थानीय तहमा छात्रवृत्ति करारमा कामकाजमा खटाईएका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले स्थायी सरह भत्ताको माग राखी नागरिकको जीवन रक्षासँग जोडिएको अत्यावश्यक एवं आकस्मिक स्वास्थ्य सेवा क्षेत्र अवरुद्ध गरी आन्दोलन गरेको भनी जानकारी हुन आएको सन्दर्भमा यसरी अत्यावश्यक एवं आकस्मिक स्वास्थ्य सेवा अवरुद्ध गरी स्वीकृत सम्झौताका शर्त र कबुलियतनामा विपरीत आन्दोलनमा संलग्न भई कार्यक्षेत्रमा अनुपस्थित रहने चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको नियमानुसार तत्काल गयल कट्टी गरी सोको विवरण यस मन्त्रालयमा लेखी पठाउन र उक्त आन्दोलनमा स्थायी चिकित्सक तथा कर्मचारीहरूको संलग्नता भएको पाइएमा निजहरूलाई कर्णाली प्रदेश निजामती सेवा ऐन, २०८० बमोजिम विभागीय कारवाहीको प्रक्रिया अगाडि बढाइने बेहोरा आदेशानुसार जानकारी गराईन्छ,’ मन्त्रालयका शाखा अधिकृत डम्मर सुनारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

