देवरको कुटपिटबाट भाउजुको मृत्यु, देवर पक्राउ
गुल्मी । गुल्मीको मालिका गाउँपालिका–२, खोलाखर्कमा देवरको कुटपिटबाट घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले मृतकका देवरलाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार मादक पदार्थ सेवन गरेका ४६ वर्षीय बलबहादुर खत्रीले आफ्नै भाउजु ४२ वर्षीया लिला खत्रीलाई कुटपिट गरेका थिए। कुटपिटबाट गम्भीर घाइते भएकी लिलालाई उपचारका लागि पाल्पास्थित लुम्बिनी मेडिकल कलेज, प्रभास पठाइएको थियो।
घटनाको जानकारी पाएपछि प्रहरी चौकी पौदीअमराई, गुल्मीबाट प्रहरी टोली खटिएको थियो। घटनामा संलग्न रहेको आरोपमा बलबहादुर र उनका ७६ वर्षीय बुबा भक्तबहादुर खत्रीलाई प्रहरीले सोधपुछका लागि नियन्त्रणमा लिएको थियो।
प्रहरीका अनुसार असोज २८ गते घाइते लिलालाई उनका छोरा हिराबहादुर खत्रीले लुम्बिनी मेडिकल कलेजबाट घर लैजाने क्रममा दिउँसो करिब १२:३० बजे बाटोमा शंका लागेपछि जिल्ला अस्पताल गुल्मी, तम्घास पुर्याइएको थियो। अस्पतालमा जाँच गर्ने क्रममा दिउँसो करिब २ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


