सुनसरीमा एम्बुलेन्सबाट ५७४ किलो गाँजा बरामद
सुनसरी । सुनसरीमा प्रहरीले ५७४ किलोभन्दा बढी गाँजासहित एउटा एम्बुलेन्स बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार २०८३ कात्तिक २ गते राति करिब १२ः३० बजे कोशी राजमार्गमा एम्बुलेन्समार्फत इटहरीबाट विराटनगरतर्फ गाँजा ओसारपसार भइरहेको सूचनाका आधारमा प्रहरीले खोजतलास गरेको थियो।
इलाका प्रहरी कार्यालय दुहबी र सीआरभी दुहबीबाट खटिएको प्रहरी टोलीले सुनसरीको दुहबी नगरपालिका–६ स्थित बुढी खोलाको किनारमा ना.४ च ६०६३ नम्बरको एम्बुलेन्स बेवारिसे अवस्थामा फेला पारेको थियो।
एम्बुलेन्स जाँच गर्ने क्रममा गाँजाजस्तो देखिने पदार्थ ५७४ किलो ८७० ग्राम बरामद भएको प्रहरीले जनाएको छ।
प्रहरीले बरामद गाँजा र एम्बुलेन्स नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय दुहबीमा राखेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।


