काठमाडौंमा ७२ हजार ८० क्याप्सुल ट्रामाडोल सहित दुई जना पक्राउ
काठमाडौं, कात्तिक २ — काठमाडौंको दक्षिणकाली नगरपालिका–५ फर्पिङस्थित बसपार्कबाट प्रतिबन्धित लागूऔषध ट्रामाडोलका ७२ हजार ८० क्याप्सुलसहित दुई जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार आइतबार बिहान करिब ४:३० बजे इलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा वीरगन्जबाट काठमाडौं आउँदै गरेको बा.२० च. ७५८८ नम्बरको कारबाट उक्त लागूऔषध बरामद गरेको हो।
प्रहरीका अनुसार कारको पछाडिको डिक्कीमा लुकाइछिपाइ ल्याइएको अवस्थामा ७२ हजार ८० क्याप्सुल ट्रामाडोल फेला परेको थियो।
पक्राउ पर्नेमा बारा जिल्लाको कलैया उपमहानगरपालिका–२३, कोयरियाका २७ वर्षीय सुदीप पटेल र पर्सा जिल्लाको वीरगन्ज महानगरपालिका–१७, अलौका २७ वर्षीय सुनिल सहनी रहेका छन्।
दुवै जनालाई लागूऔषधसहित नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिएका छन्।


