सीमावर्ती भारतीय बजारबाट ब्राउन सुगरसहित बाराका युवक पक्राउ
रौतहट, ८ कात्तिक। भारतको बिहारस्थित आदापुरबाट लागूऔषध ब्राउन सुगरसहित एक नेपाली युवक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा बाराको फेटा गाउँपालिकाका २४ वर्षीय रोज मोहम्मद देवान रहेका छन्। भारतीय प्रहरीका अनुसार उनी आदापुरस्थित श्यामपुर चोकबाट ४८.७६ ग्राम स्म्याक (ब्राउन सुगर) जस्तो देखिने लागूऔषधसहित पक्राउ परेका हुन्।
आदापुरकी थानाध्यक्ष रूपम कुमारीको नेतृत्वमा सशस्त्र सीमा बल (एसएसबी) को संयुक्त सहयोगमा गरिएको विशेष सुरक्षा जाँच तथा कारबाहीका क्रममा उनलाई नियन्त्रणमा लिइएको हो। गोप्य सूचनाका आधारमा प्रहरीले सो कारबाही अघि बढाएको थियो।
बरामद गरिएको लागूऔषधको मुचुल्का मजिस्ट्रेट तथा अञ्चल अधिकारीको उपस्थितिमा तयार पारिएको छ। पक्राउ परेका देवानमाथि हाल थप अनुसन्धान भइरहेको र प्रचलित कानुन बमोजिम कानुनी प्रक्रिया अघि बढाइएको भारतीय प्रहरीले जनाएको छ।


