धनकुटामा बर्कोबाट आगो सल्किँदा ९२ वर्षीया वृद्धाको मृत्यु
धनकुटा,१० कार्तिक । धनकुटाको साँगुरीगढी गाउँपालिका–६ मुक्तेनमा आगोले जलेर ९२ वर्षीया वृद्धाको मृत्यु भएको छ।
मृत्यु हुनेमा मुक्तेन निवासी पविमाया मगर रहेकी छन्। जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार कात्तिक ९ गते साँझ करिब ५ बजे आफ्नै घरको आँगनमा रहेको चुल्होमा खोले पकाएर आगो ताप्ने क्रममा उनले ओढेको बर्कोमा अचानक आगो सल्किएको थियो।
आगो सल्किएर कम्मरभन्दा मुनिको भाग जलेपछि उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनाबारे आज बिहान करिब ६ः३० बजे इलाका प्रहरी कार्यालय भेडेटारमा जानकारी प्राप्त भएको थियो। जानकारी प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा खटिएर आवश्यक प्रक्रिया अघि बढाएको थियो।
जिल्ला प्रहरी कार्यालय धनकुटाबाट प्रहरी निरीक्षक पाण्डवकुमार राजवंशीको कमान्डमा खटिएको टोलीले कानुनी प्रक्रिया पूरा गरी मृतकको शव पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको प्रहरीले जनाएको छ।


