पर्सा प्रहरीको विशेष अपरेसन : २ हजार ९५ लिटर घरेलु मदिरा बरामद
रौतहट, १२ कात्तिक। पर्सा प्रहरीले अवैध घरेलु मदिराको उत्पादन तथा बिक्री–वितरण नियन्त्रण गर्न सञ्चालन गरेको विशेष अपरेसनका क्रममा २ हजार ९५ लिटर घरेलु मदिरा बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्सा तथा मातहतका प्रहरी कार्यालयबाट बुधबार सञ्चालन गरिएको विशेष अपरेसनका क्रममा जिल्लाका विभिन्न स्थानबाट उक्त परिमाणमा घरेलु मदिरा बरामद गरिएको हो।
प्रहरीले कानुनी प्रक्रिया पूरा गरी बरामद मदिरा जिल्ला प्रहरी कार्यालयमा ल्याएको जनाएको छ। बरामद मदिरा नष्ट गर्ने प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) चक्रबहादुर मल्लका अनुसार अवैध रूपमा घरेलु मदिरा उत्पादन, बिक्री–वितरण तथा ओसारपसार गर्नु कानुनविपरीतको कार्य हो। मापदण्डविपरीत विभिन्न रसायन प्रयोग गरी उत्पादन गरिने घरेलु मदिराले मानव स्वास्थ्यमा गम्भीर असर पार्न सक्ने भएकाले यसको नियन्त्रणमा प्रहरीले सक्रियता बढाएको उनले बताए।
प्रहरीले अवैध घरेलु मदिराको उत्पादन, बिक्री–वितरण तथा ओसारपसारमा संलग्न नहुन सर्वसाधारणलाई आग्रह गरेको छ। साथै, यस्ता गतिविधि भइरहेको जानकारी भएमा नजिकको प्रहरी कार्यालय वा जिल्ला प्रहरी कार्यालयको हटलाइन नम्बर १०० मा सूचना दिन प्रहरीले अनुरोध गरेको छ।
अवैध मदिराको उत्पादन तथा कारोबार नियन्त्रणसँगै जनस्वास्थ्यमा पर्न सक्ने जोखिम न्यूनीकरण गर्ने उद्देश्यले प्रहरीले निगरानी र कारबाहीलाई निरन्तरता दिने जनाएको छ।


