अम्बे स्टिल कम्पनीमा आगलागी हुँदा ८ जना घाइते, दुई जनालाई भारत रिफर
बाँके । बाँकेको जानकी गाउँपालिका–५ बकसपुरस्थित अम्बे स्टिल सरिया कम्पनीमा आगलागी हुँदा आठ जना घाइते भएका छन्।
आज बिहान करिब ५:४० बजे कम्पनीभित्र फलाम पगाल्ने तीनवटा भट्टीमा विद्युत् सर्ट सर्किट भई आगलागी भएको हो। प्रत्येक भट्टीको क्षमता २५ टन रहेको बताइएको छ।
आगलागीमा परी बाँकेका पाँच जना र भारतको बहराइच जिल्लाका तीन जना गरी आठ जना घाइते भएका छन्। उनीहरूलाई उपचारका लागि भेरी अस्पताल नेपालगञ्ज लगिएको थियो।
घाइतेमध्ये बाँकेका शिवप्रसाद चमार (२८) र रामदिन हरिजन (२२) को अवस्था मध्यम रहेको छ भने अन्य छ जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। मध्यम अवस्था रहेका दुवै जनालाई थप उपचारका लागि भारतको लखनउ रिफर गरिएको छ।
आगलागी नियन्त्रणका लागि नेपालगञ्ज उपमहानगरपालिकाका दुई र कोहलपुर नगरपालिकाको एक गरी तीनवटा दमकल परिचालन गरिएको थियो। नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा स्थानीयवासीको सहयोगमा बिहान ८:१५ बजे आगो पूर्ण रूपमा नियन्त्रणमा आएको हो।
आगलागीबाट भएको अन्य भौतिक क्षतिको विवरण भने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।


