जिप दुर्घटना हुँदा महिलाको मृत्यु, चालक सहित ६ जना घाइते
बैतडी । बैतडीमा जिप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने जिप चालकसहित ६ जना घाइते भएका छन्।
जिल्लाको मेलौली नगरपालिका–१ स्थित जिरो पोइन्ट नजिकै सौडानी खोलामा गएराति जिप दुर्घटना भएको हो।
प्रहरीका अनुसार डडेल्धुराबाट पञ्चेश्वरतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ज १६३८ नम्बरको जिप गएराति करिब ८ बजे अनियन्त्रित भई सडकबाट करिब ३० देखि ३५ मिटर तल खसेको थियो।
दुर्घटनाका बेला जिपमा चालकसहित सात जना सवार थिए। दुर्घटनामा घाइते भएका सबैलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र मेलौली पठाइएको थियो।
उपचारकै क्रममा राति ८ः३५ बजे बैतडीको पञ्चेश्वर गाउँपालिका–२ निवासी ३५ वर्षीया सुना मंगोलाको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा सोही ठाउँकी २२ वर्षीया सोमनी मंगोला, ११ वर्षीय अविनास राम लुहार, १६ वर्षीय निरज बस्केल, २४ वर्षीय करन सिंह मंगोला, २२ वर्षीय सुनिल बस्केल र जिप चालक ३६ वर्षीय सन्तोष राम लुहार घाइते भएका छन्।
घाइतेमध्ये सोमनी मंगोला, अविनास राम लुहार, निरज बस्केल र चालक सन्तोष राम लुहारको अवस्था मध्यम रहेको छ भने करन सिंह मंगोला र सुनिल बस्केलको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते भएकाहरूको उपचार भइरहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


