ब्राउन सुगरसहित झापा र उदयपुरबाट चार जना पक्राउ
विराटनगर । झापा र उदयपुरबाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ।
कार्तिक १८ गते विशेष सूचनाका आधारमा उदयपुरको अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले त्रियुगा नगरपालिका–३ का अर्जुन रोक्का र त्रियुगा नगरपालिका–१२ का सञ्जीव परियारलाई २ ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो।
त्यसैगरी, झापाको इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले चेकजाँचका क्रममा दमक नगरपालिका–४ का १६ र १७ वर्षीय दुई जना बालकलाई १ ग्राम ९१ मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको छ।
पक्राउ परेका चारै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


