पाँचथरमा अवैध बालुवा र काठ बोकेका दुई ट्याक्टर नियन्त्रणमा
पाँचथर । अवैध रूपमा उत्खनन गरिएको बालुवा र बिलबिजकबिना काठको गोलिया ढुवानी गरेको आरोपमा पाँचथर प्रहरीले दुईवटा ट्याक्टर नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार फिदिम नगरपालिका–४ हेवाखोलामा बालुवा लोड गर्दै गरेको अवस्थामा मे १ त ७७३७ नम्बरको ट्याक्टर नियन्त्रणमा लिइएको हो। उक्त ट्याक्टरका चालक हिलिहाङ गाउँपालिका–७ का २५ वर्षीय पदम तामाङ र सहचालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।
त्यस्तै, फिदिम नगरपालिका–१ बरडाँडाबाट फिदिमतर्फ आउँदै गरेको प्र १–०१–००१ त ८६३५ नम्बरको ट्याक्टरमा १३५ क्युबिक फिट सल्लो प्रजातिको काठको गोलिया भेटिएको प्रहरीले जनाएको छ। कुम्मायक गाउँपालिका–४ का २९ वर्षीय निरोज ढकालले चलाएको उक्त ट्याक्टरमा काठ ढुवानीसम्बन्धी बिलबिजक तथा इजाजतपत्र नभएको पाइएको थियो।
नियन्त्रणमा लिइएका दुवै ट्याक्टर आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला समन्वय समिति र डिभिजन वन कार्यालय पाँचथरमा पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।


