सुनसरीमा ४७ किलो विस्फोटक पदार्थ सहित तीन जना पक्राउ
इनरुवा । सुनसरी प्रहरीले विस्फोटक पदार्थ बनाउन प्रयोग हुने ४७ किलो पदार्थसहित तीन जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार २०८३ कात्तिक १० गते साँझ ६ः३० बजे धरान उपमहानगरपालिका–८ स्थित तीनकुने धरान चेकपोस्टमा इटहरीबाट धरानतर्फ जाँदै गरेको को.प्र. ०२–००२ ख १६१८ नम्बरको मिनी ट्रक जाँच गर्ने क्रममा उक्त पदार्थ फेला परेको हो।
प्रहरीले मिनी ट्रकमा अवैध रूपमा भन्सार छली ल्याइएका विभिन्न सामानसँगै बोराभित्र प्याकिङ गरी राखिएको पारदर्शी सेतो ठोस पदार्थ ४७ किलो बरामद गरेको थियो।
उक्त पदार्थ नियन्त्रणमा लिन खोज्दा मिनी ट्रकमा सवार व्यक्तिहरूले प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार गरेको प्रहरीले जनाएको छ। त्यसपछि उनीहरूलाई नियन्त्रणमा लिई अभद्र व्यवहारसम्बन्धी मुद्दामा अनुसन्धान अघि बढाइएको थियो।
बरामद पदार्थ परीक्षणका लागि नेपाल प्रहरी केन्द्रीय विधिविज्ञान प्रयोगशाला सामाखुसी, काठमाडौं पठाइएकोमा परीक्षण प्रतिवेदनबाट उक्त पदार्थ विस्फोटक पदार्थ (गन पाउडर/ब्ल्याक पाउडर) को एक घटक रहेको पुष्टि भएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा मोरङ विराटनगर महानगरपालिका–४ छिटाहाका २५ वर्षीय प्रदीपकुमार साह तथा जहदा गाउँपालिका–१ का ४२ वर्षीय भूपेन्द्र राजवंशी र ४२ वर्षीय कार्तिक राजवंशी रहेका छन्।
प्रहरीले उनीहरूमाथि अभद्र व्यवहारसँगै विस्फोटक पदार्थसम्बन्धी कसुरमा समेत थप अनुसन्धान भइरहेको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका सहायक सूचना अधिकारी प्रहरी निरीक्षक हेमराज ओलीले बिहीबार (कात्तिक २१ गते) प्रेस विज्ञप्ति जारी गर्दै घटनाबारे जानकारी दिएका हुन्।


