धनकुटाको पाख्रीबासमा जुवा खेलिरहेको अवस्थामा १५ जना पक्राउ, ३ लाखभन्दा बढी नगद बरामद
धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिका–४ स्थित एक घरमा जुवा खेलिरहेको अवस्थामा १५ जना पक्राउ परेका छन् ।
पाख्रीबासस्थित गणेश गुरुङको घरमा जुवा खेलिरहेको सूचनाका आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय धनकुटाबाट प्रहरी निरीक्षक मयंक मिश्रको कमाण्डमा खटिएको प्रहरी टोलीले कात्तिक २२ गते राति करिब २ बजे छापा मार्दा जुवा खेलिरहेको अवस्थामा उनीहरू पक्राउ परेका हुन् ।
प्रहरीका अनुसार घटनास्थलबाट १६ वटा कौडा र नगद १६ हजार ५०० रुपैयाँ बरामद भएको छ । त्यस्तै, पक्राउ परेका १५ जनाको साथबाट थप २ लाख ९६ हजार ८०० रुपैयाँ बरामद गरिएको छ । यसरी प्रहरीले कुल ३ लाख १३ हजार ३०० रुपैयाँ बरामद गरेको छ ।
पक्राउ पर्नेमा पाख्रीबास नगरपालिका–६ फलाटेका बुद्धिमान राई (४२) र डिकबहादुर बस्नेत (६५), वडा नं. ८ मुगाका रञ्जित राई (३३), सिंहराज घिसिङ (५३), जीवन राई (३६), दिनेश राई (३४) र नगेन्द्र राई (३८) रहेका छन् ।
त्यस्तै, पाख्रीबास–४ बुद्धचोकका रविकुमार राई (३९), पाख्रीबासका लालबहादुर पाख्रिन (५२), निरौलागाउँका राजकुमार निरौला (४८), पाख्रीबासकै पूर्णबहादुर गुरुङ (४६), देवेन्द्र पौडेल (४२) र सुम्निमा लिम्बु (४२) पक्राउ परेका छन् ।
यसैगरी धनकुटा नगरपालिका–१ हिलेका नन्दकुमार तामाङ (५३) र टीकाराम तामाङ (५८) पनि पक्राउ परेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालय धनकुटामा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


