इटहरीमा केही मिनेटको अन्तरमा श्रीमान्–श्रीमतीको मृत्यु
इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका–७ मा केही मिनेटको अन्तरमा श्रीमान् र श्रीमतीको मृत्यु भएको छ।
निर्माण मजदुरी गर्दै आएका स्थानीय रामु चौधरी र उनकी श्रीमती कञ्चन चौधरीको केही मिनेटको अन्तरमा मृत्यु भएको स्थानीयले बताएका छन्।
स्थानीयका अनुसार रामु चौधरी घर निर्माणको काममा खटिएका बेला अचानक असहज महसुस भएपछि काम छाडेर घर फर्किएका थिए। घर पुगेपछि पनि स्वास्थ्य अवस्था सहज नभएको भन्दै उनले श्रीमतीलाई जानकारी गराएका थिए।
तर उनीहरू अस्पताल नगई घरमै बसेका थिए। केही समयपछि रामुको अचानक मृत्यु भएको र श्रीमान्को निधनको खबरपछि शोकमा रहेकी कञ्चनको पनि केही मिनेटकै अन्तरमा मृत्यु भएको स्थानीयको भनाइ छ।
स्थानीय बासिन्दा भिनेश्वर खवासका अनुसार मृतक दुवै जनाको उमेर ५० वर्षभन्दा कम थियो। उनीहरूको मृत्युको वास्तविक कारण भने खुल्न बाँकी छ।


