काँग्रेसको नेतृत्वमा मुलुकलाई निकास र विकास : नेता पौडेल

काठमाडौँ, २३ जेठ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रलाई निकास र जनतालाई विकास दिन आवश्यक भएकाले नयाँ बन्ने सरकारले त्यो चाहना पूरा गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

व्यवस्थापिका–संसद्को आजको बैठकमा नयाँ प्रधानमन्त्री चयनका लागि काँग्रेसका सभापति शेरबहादुर देउवालाई समर्थन गर्दै उहाँले आफ्नो पार्टी २००७ सालको परिवर्तनको सूत्रपात गर्ने पार्टी भएको र अहिले त्यसलाई पूर्णता दिने क्रम चलेको सन्दर्भमा नयाँ सरकारले आर्थिक विकासलाई तीव्रता दिइने बताउनुभयो ।

“राष्ट्रलाई एउटा व्यवस्था दिने र मुलुकको समृद्धि गर्ने अहिलेको आवश्यकता हो, काँग्रेस स्पष्ट सोचका साथ मुलुकको विकासलाई अगाडि बढाउन चाहन्छ, विपी कोइराला र गणेशमान सिंहले कोरेको बाटोलाई पछ्याउँदै अब धेरै प्रयोगतिर नलागी प्रजातन्त्रको लक्ष्यसहित निमुखलाई न्याय र विपन्नलाई आय दिनु हाम्रो लक्ष्य हो”, नेता पौडेलले भन्नुभयो, “न्याय खोज्न जाँदा कुन पार्टीको आएको हो भन्ने आधारमा न्याय दिने कुप्रथा पनि देखिएको छ, वास्तवमा निमुखालाई न्याय दिनुपर्छ, विपन्नको गुणात्मक परिवर्तन ल्याउन सकिनु नै विकास हो, त्यो यात्रामा हाम्रो पार्टी अगाडि बढ्न चाहन्छ ।”

उहाँले सबैलाई निर्वाचनमा ल्याएर राष्ट्रिय एकता गरी कसैलाई वञ्चित नगराउन नयाँ सरकारले पहल गर्ने विश्वास पनि व्यक्त गर्नुभयो ।

अन्य दलको समर्थन

प्रधानमन्त्रीमा देउवालाई समर्थन गर्दै नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदारले जनताले लडेर ल्याएको लोकतन्त्रलाई शासकले जोगाउन नसकेको टिप्पणी गर्दै लोकतान्त्रिक आन्दोलनको एक वाहकका रुपमा रहेका देउवाको नेतृत्वमा मुलुकले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई थप संस्थागत गराउने अपेक्षा व्यक्त गर्नुभयो ।

समाजवादी जनता दलका अध्यक्ष प्रेमबहादुर सिंहले संविधान कार्यान्वयन, विकास र शान्ति स्थापनाको निर्णायक घडीमा सभापति देउवाले प्रधानमन्त्री भएपछि त्यस कार्यमा लाग्नुहुने विश्वास व्यक्त गर्नुभयो ।

यस्तै अखण्ड पार्टी नेपालका कुमार खड्का र नेकपा (संयुक्त)का जयदेव जोशी प्रधानमन्त्री देउवाको उम्मेदवारीको प्रस्तावमा समर्थन जनाउनुभयो ।

प्रस्तावक र समर्थकले बोलेपछि सभामुख ओनसरी घर्तीले मत विभाजनबाट प्रधानमन्त्रीको चयन प्रक्रिया सुरु गर्नुभएको छ । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।