आगोसँग नखेल्न गोर्खा जनमुक्ति मोर्चालाई मुख्यमन्त्री बेनर्जीको चेतावनी
आषाढ, मुख्यमन्त्री ममता बेनर्जी दार्जिलिङमा हिंस्रक आन्दोलन गरिरहेका गोर्खा जनमुक्ति मोर्चासँग एकपटक फेरि शान्तिको अपिल गरेकी छन् । उनले यस्ता किसिमका क्रियाकलाप कुनै पनि हालतमा सहेर नबस्ने चेतावनी समेत दिएकी छन् ।
तीन दिवसीय भ्रमणका लागि नेदरल्यान्ड जानुअघि हवाई अड्डामा कुराकानीका क्रममा उनले आगोसँग खेलेमा सबै खरानी हुने भन्दै शान्तिको रक्षा गर्न आग्रह गरिन् ।
पहाडी क्षेत्रको स्थिति नियन्त्रणमा नआएपछि तराईको मैदानमा समेत प्रभाव परिरहेको छ । आइतबार भएको हिंसामा गौरबाडी पुलिस पोस्टमा आगो लगाइएको थियो । भारत र नेपालका अन्य सीमा क्षेत्रमा समेत गोर्खा जनमुक्ति मोर्चाका कार्यकर्ताहरुले थुप्रै संगठनहरुको भेला गराइसकेका छन् ।
सबै सीमा क्षेत्रहरुमा गोर्खाल्यान्डलाई अलग गर्नुपर्ने मागको नारा लगाइएको छ । सिलिगुडीका मेयर अशोक भट्टाचार्यको भनाइअनुसार पहाडी क्षेत्रमा अहिले नै स्थितिलाई नियन्त्रणमा ल्याइएन भने यसले तराईमा समेत नराम्रो प्रभाव पार्ने पक्का भएको छ ।
नेदरल्यान्ड भ्रमणका क्रममा मुख्यमन्त्री बेनर्जी त्यहाँ गएर पश्चिम बङगालका सफलताहरु सबैसामु राख्ने र राज्यमा आकर्षक लगानीका लागि विभिन्न वाणिज्य मन्डलसँग बैठक समेत बस्ने बताएकी छन् ।


