गोली लागेर तीन जनाको मृत्यु भएपछि रोकिएन दार्जिलिङ तनाब, गोर्खा जनमुक्ति मोर्चाको बैठक बस्दै
काठमाडौं, २६ असार । शुक्रबारको प्रहरी कारवाहीका क्रममा गोली लागेर तीन जनाको मृत्यु भएपछि दार्जिलिङ्को तनाव तीव्र भएको खबर सोमबार कलकत्ताको ‘द टेलिग्राफ’ पत्रिकाले छापेको छ ।
सुरज भुसाल, तासी भुटिया, समीर गुरुङको शवयात्रामा सयकडौं मानिसहरु सम्मिलत भएको टेलिग्राफको कथन छ । तर दार्जिलिङतर्फको सञ्चार सेवा बरोबर अवरुद्ध रहेकोले यसै भन्न गाह्रो छ ।
तासी भुटियाको शवयात्रा १६ किलोमिटर पर सोनादामा भएको थियो ।
गोर्खा जनमुक्ति मोर्चाका सहायक महासचिव विनय तामाङले परिस्थितिको आकलन गर्न मोर्चाको बैठक मंगलवार बस्ने बताएका छन् । तामाङले बैठक कहाँ हुने खुलाएनन् तर मोर्चाका अन्य सूत्रहरुले भने बैठक मिरिकमा हुने भनेका छन् ।
पश्चिम वंगालकी मुख्यमन्त्री ममता बनर्जीले वार्ताका लागि गरेको आह्वानलाई मोर्चाले अस्वीकार गरिसकेको छ । वार्ता अब केन्द्रसित मात्र हुन्छ भन्ने गोर्खा जनमुक्ति मोर्चाको अडान रहिआएको छ । तर केन्द्र सरकार यतिञ्जेल मौन छ । र, दार्जिलिङको प्रतिनिधित्व गर्ने लोकसभामा सदस्य रहेका भाजपा सदस्य एस्.एस्. आलुवाहलिया पनि चुप लागेका छन् ।
दार्जिलिङ आन्दोलन चर्केको महीना दिन बितिसक्दा पनि उनी एकपल्ट पनि आफ्नो क्षेत्रमा आएका छैनन् । उनले हिजो फेसबुकको एक सम्प्रेषणमा भने राज्य सरकारको दमनकारी नीतिको आलोचना गरेको देखिएको छ । त्यस सम्प्रेषण प्रतिकार पाँच सयभन्दा बढी टिप्पणीमा आलुवाहलियाप्रति असन्तुष्टि जनाएका छन् ।
अनिश्चितकालीन बन्दको सोमबार २५ औं दिन हो र पर्वतीय क्षेत्रका कतिपय बासिन्दाहरुले नैराश्यपूर्ण अभिव्यक्ति दिन थालेका छन् ।
यसैबीच, विनय तामाङले शरद पवारको नेसनालीस्ट कांग्रेस पार्टीले गोर्खाल्याण्ड राज्यको मागको समर्थन गरेको जानकारी दिएका छन् । र, यस पार्टीका राज्यसभा सदस्य मजिद मेननले दिल्लीमा गोर्खालीहरुको सार्वजनिक सभालाई सम्बोधन पनि गरेका छन् ।


