शारिरिक रुपमा अपांग धनकुटाका यी युवक विगत १० बर्ष देखि खोरमा

धनकुटा । हेर्दा कलिलो देखिने पशु झैं अबोध, भोक, तिर्खा बाह्य संसारको अनुभूति गर्न नपाएका १८ वर्षीय रुद्रबहादुर राई विगत १० वर्षदेखि खोरमा जीवन जिउन बाध्य भएका छन् ।

धनकुटा नगरपालिका–३ सिप्तेनमा गरिब परिवारमा जन्मिएका रुद्र बाँस र टिनले बारिएको चौघेरामा दैनिकी बिताइरहेका छन् । बिहान सबेरै खोलेफाँडो खुवाएर अरूको मेलापात धाउने बाबुआमा रुद्रबहादुरलाई खोरमा थुनेर साँझ अबेर मात्र घरमा आउने गरेको बताउँछन् ।

जन्मजात अपाङ्गता भएका रुद्र नत बोल्न सक्छन्, नत हिँड्न नै सक्छन्, उनी बाँसको चौघेरामा जीवन बिताउन बाध्य रहेका छन् । आमा गंगामाया र बाबु मानबहादुर राईका दुई मध्येका कान्छा सन्तान रुद्र चार पाउले बामे सर्न भने सक्छन् । दिनभर दिसापिसाब ओछ्यानमा नै गर्ने रुद्र अपाङ्गतासँगै सुस्तसमेत रहेको आमा गंगामायाले बताउनुहुन्छ ।

आर्थिक स्थिति अति कमजोर रहेको राई परिवारमा जेठो सन्तानका रुपमा रहेकी २४ वर्षीया रामदेवी राई वैदेशिक रोजगारीमा गएर आमाबाबु र भाइको मुहार फेर्न भन्दै साहुसँग ऋण खोजेर एक महिनाअगाडि काठमाडौँतिर गएकी बाबु मानबहादुरले बताउनुभयो । सम्पत्तिका नाममा रहेको एक घरसमेत भूकम्पले क्षति गरेको र तीन रोपनी पाखो बारीको उब्जनीले तीन महिना पनि खान नपुग्ने भएपछि छोरा रुद्रलाई खोरमा थुनेर अर्काको घरदैलोमा काम खोज्न बिहान सबेरै घरबाट बाहिरिन बाध्यता रहेको आमा गंगामाया बताउनुहुन्छ ।

सरकारले छोरा रुद्रबहादुरको अपाङ्गता भत्ताबापत दिने मासिक दुई हजारले नूनतेल जुटाउने गरेका मानबहादुर छाकटार्न छोरालाई खोरमा थुनेर सधँै दुबैजना बनिबुतोमा लाग्नु बाध्यता रहेको बताउनुहुन्छ । भगवान्ले सन्तानमार्फत ठगेपछि गरिबसमेत बन्नु परेको आमा गंगामायाले दुखेसो पोख्नुभयो । घरधन्दा र किसानी मेलापातबाहेक कुनै सीप नभएका दम्पती दैनिक काम पाउन नसके भोकभोकै बस्नुपर्ने अवस्था रहेको बताउँछन् ।

घरमा हेरचाह गर्ने मानिसको अभावमा खोरमा थुनिएका रुद्रबहादुर हाउभाउ र इसारा मात्र गर्ने गरेपनि केही वर्षअघि घरमा पालिएको सुँगुरले दायाँ कान खाइदिएपछि सुस्त भएका बाबु मानबहादुरले बताउनुभयो ।

आफ्नो सन्तान दिनभर भोकैतिर्खै छोडेर काम गर्दा याद आएपनि मुटु मिचेर साँझपख घर पुग्नु दम्पतीको बाध्यता भएको आमा गंगामायाले भक्कानिँदै भन्नुभयो । आफूले जन्माएको सन्तान हो, बाँचेसम्म दुःखसुख गरेर भ्याएसम्म स्याहार गरेका छौँ, उसैको पालनका लागि आएको भत्ताले पनि केही मिठो खानेकुरासमेत दिन नसक्नुले आफैलाई धिक्कार्दै बस्नुपरेको मानबहादुरले दुखेसो पोख्नुभयो ।

यो पनि हेर्नुहोस्सहयोग को अपिल



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।