यसपटकको प्रहरीको बढुवा पनि विगतमा जस्तै चरम विवादमा, फुली नलगाउने भन्दै भयो चर्काचर्की
काठमाडौं, १० साउन । यसपटकको प्रहरीको बढुवा पनि विगतमा जस्तै चरम विवादमा तानिएको छ । तीन जना सिनियर प्रहरी अधिकारीले बढुवा सिफारिसविरुद्ध उजुरी गरेपछि बढुवा विवादमा तानिएको हो । डिआईजी मधु पुडासैनी, एसएसपी सुभाषचन्द्र चौधरी र एसपी विभूतीराज पाण्डेले उजुरी गरेका हुन् ।
बढुवामा उजुरी नपरेको र चर्काे असन्तुष्टिको अर्काे पाटो भने बाहिर आएको छैन । एआईजी बढुवाको विषयलाई लिएर सत्तारुढ दलभित्रै विवादको अवस्था सिर्जना भएको छ ।
डिआईजी जयबहादुर चन्दलाई दोस्रो नम्बरमा एआईजी सिफारिस गरिएपछि विवाद बढेको हो । प्रधानमन्त्री शेरबहादुर देउवासमेत त्यो निर्णयबाट आश्चर्यमा परेको स्रोत बताउँछ । बढुवा समिति र गृहमन्त्री जनार्दन शर्मा प्रभाकरले एआईजी बढुवामा आफूलाई झुक्याएको आरोप उनले लगाएका छन् ।
चन्द पहिलो नम्बरमा बढुवा भएको खण्डमा आईजिपी प्रकाश अर्यालको कुर्सीमाथि तरबार झुन्डिने थियो । किनकि चन्दको देउवासँग घनिष्ट सम्बन्ध छ । कुनै पनि बेला देउवाले अर्याललाई हटाएर चन्दलाई आईजिपी बनाउने सम्भावना छ । तर, अब चन्द २ नम्बरमा बढुवा भएपछि त्यो सम्भावना कम भएको छ । दृष्टी न्यूजमा खबर छ – यही विषयलाई लिएर प्रधानमन्त्रीले गृहमन्त्री र आईजिपीलाई हप्काएका छन् ।
यही विषयमा गत हप्ता एक पार्टीमा नै चर्काचर्की भएको छ । एक व्यवसायीको छोराको ब्रतबन्धमा सोल्टी होटलमा आयोजित कार्यक्रममा चन्दले आफूलाई नियोजित रुपमा दोस्रो नम्बरमा धकेलिएको भन्दै उनले आफूले फुली नै नलगाउने घुर्की लगाएका थिए । चन्दका निकटस्थ कांग्रेस नेता रमेश लेखक व्यक्तिहरुसँग चन्दले आफ्नो असन्तुष्टि पोखेका थिए । लेखकले पनि निर्णयबाट आफू चकित भएकाले प्रधानमन्त्रीसँग यसबारेमा कुरा गरिसकेको बताएका थिए । स्रोतका अनुसार देउवाले कसलाई एक नम्बर बनाउने भन्नेमा चासो देखाएका थिएनन्, त्यही मौका आईजिपी र गृहमन्त्रीले छोपोर बमबहादुर भण्डारीलाई पहिलो नम्बरमा सिफारिस गरेका हुन् ।
यो सिफारिसले गृहसचिवकै समेत धोती खुस्किएको छ । उनै गृहसचिव लोकदर्शन रेग्मीले गत फागुन १ गते डिआईजीमध्ये चन्द सबैभन्दा उत्कृष्ट भएकाले उनलाई आईजिपी बनाउने प्रस्ताव क्याबिनेटमा पठाएका थिए । अहिले उनै रेग्मी अध्यक्षताको बढुवा सिफारिस समितिले चन्दभन्दा भण्डारीको कार्यक्षमता धेरै भएको भन्दै भण्डारीलाई पहिलो र चन्दलाई दोस्रो नम्बरमा सिफारिस गरेको छ ।


